बजेटमा बागमती प्रदेशका धेरै योजना



बागमती  ।
सरकारले आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमा बागमती प्रदेशका योजना समेटेपछि उत्साह थपिएको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा यहाँका धेरै योजना समावेश गरिएपछि उत्साह थपिएको हो ।
बजेट वक्तव्यमा नेपाललाई सूचना प्रविधि हबका रुपमा विकास गर्न आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने घोषणा गरिएको छ । सार्वजनिक–निजी साझेदारीमा अत्याधुनिक सूचना प्रविधि हब सञ्चालनका लागि काठमाडौँको डिल्लीबजारस्थित चारखालमा बहुतल्ले संरचना निर्माण गरिने र ललितपुरको खुमलटारमा ज्ञानपार्क निर्माणका लागि रु १७ करोड बजेट विनियोजन गरिएको छ ।
यस्तै, आगामी आवदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण कार्य सुरू गरिने र चितवन विमानस्थल विस्तारको काम सोही आवमा सम्पन्न गर्न रु ३६ करोड विनियोजन गरिएको घोषणा गरिएको छ । सरकारले बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने, रुग्ण तथा बन्द अवस्थामा रहेका विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग र गोरखकाली रबर उद्योग सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालनमा ल्याउने सरकारको योजना छ ।
त्यसैगरी चितवनमा मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी कार्य अगाडि बढाइने, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आवदेखि कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिने र पाटनस्थित मानसिक अस्पतालको स्तरोन्नति गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
“आगामी आवमा काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने काठमाडौँस्थित वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार र कीर्तिपुरस्थित बर्न अस्पतालको पूर्वाधार विकास गरिने”, वक्तव्यमा भनिएको छ ।
आगामी वर्ष राष्ट्रियस्तरका ८० खेल आयोजना गर्ने घोषणा गरेको सरकारले काठमाडौँको मूलपानी क्रिकेट रङ्गशाला र विराटनगरस्थित गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिने जनाएको छ ।
यसैगरी आगामी आवमा चितवनको भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध रङ्गशाला तीनै तहका सरकारको साझेदारीमा निर्माण सम्पन्न गरिने घोषणा गरिएको छ । कीर्तिपुरस्थित क्रिकेट रङ्गशालाको स्तरोन्नति र फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई तीव्रता दिएको सरकारले खेल पूर्वाधारतर्फ रु एक अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आवमा पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डलाई चार लेनमा विस्तार गरिने, काठमाडौँ  तराईं मधेस द्रुतमार्गको निर्माणलाई तीव्रता दिँदै महादेवटार, धेद्रे र लेनडाँडा सुरुङ सम्पन्न गरिनेसमेत बजेट वक्तव्यमार्फत जानकारी दिइयो । यस्तै, नागढुङ्गा–नौबिसे–मुग्लिङ खण्डको थप ४० किलोमिटर स्तरोन्नति गरिने र मुग्लिङ–आँबखैरेनी सडक विस्तार कार्यलाई सुरु गरिने जनाइएको छ । आगामी आवमा सिस्नेखोला–नागढुङ्गा सडक निर्माण, सिद्धबाबा सुरुङमार्ग र ग्वार्को फ्लाइओभर सम्पन्न हुने छन्।
स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुलो, धागो उद्योग, हेल्मेट, अगरबत्ती, स्यानिटरी प्याड, काजु र बदाम प्रशोधनलगायत उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तःशुल्क घटाएको सरकारले आगामी आवमा रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहको कार्य सम्पन्न गर्ने घोषणा गरेको छ ।
यसरी विगतको भन्दा सरकारले बागमती प्रदेशका थुप्रै र महत्वपूर्ण योजनालाई बजेटमार्फत सम्बोधन गरेको भन्दै स्थानीय खुसी भएका छन् । “सरकारले प्रदेशमा शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार क्षेत्रका भौतिक संरचनालगायतका कार्यलाई प्राथमिकता दिएको घोषणा गर्नु आफैँमा स्वागतयोग्य छ”, हेटौँडा उपमहानगरपालिकाका व्यवसायी सुजन श्रेष्ठले भन्नुभयो, “यसबाट बागमती प्रदेशमा पर्यटन प्रवर्द्धनसँगै आर्थिक समृद्धिको बाटो खुल्ने छ ।” अब बजेट वक्तव्यमा उल्लेखित योजना कार्यान्वयन विशेष ध्यान दिनुपर्ने उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्