सञ्‍चार तथा सूचना क्षेत्रमा ७ अर्ब ३५ करोड बजेट



काठमाडौं ।

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ३५ करोड विनियोजन गरिएको छ । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै ७ अर्ब ३५ करोडको बजेट विनियोजन गरेका हुन् ।

नागरिकको सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने बताएका छन् ।

आमसञ्‍चार क्षेत्रलाई निष्पक्ष, समावेशी, व्यावसायिक र प्रतिस्पर्धी बनाउँदै सार्वजनिक महत्त्वको समाचार समयमै सत्य, तथ्य र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने व्यवस्था मिलाइनेछ। लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्‍चारग्राम स्थापना गरिने जनाएकाे छ ।

सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि तालीमको अवसर उपलब्ध गराइनेछ। सामाजिक सञ्‍जाल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाइने छ। डिजिटल प्लेटफर्म मार्फत गरिने विज्ञापन नियमन गरिनेछ। विज्ञापन क्षेत्रलाई एकद्वार प्रणाली मार्फत व्यवस्थित गरिनेछ। सञ्‍चार माध्यमलाई उपलब्ध गराइने लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिएको बताएका छन्  ।

हुलाक सेवालाई पुनर्संरचना गरी विद्युतीय व्यापारको हवको रूपमा विकास गरिने छ। काभ्रेपलाञ्‍चोकको बनेपामा चलचित्र छायाङ्कन स्टुडियो निर्माण कार्य शुरू गरिने बताइएकाे छ । दोलखा चलचित्र नगरीलाई सार्वजनिक-निजी साझेदारीमा निर्माण कार्य अगाडि बढाइने जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्