पहिलोपटक फेसनको फेस्टिवल

266
Shares

काठमाडौं ।

सन नेटवर्क नेपालको आयोजनामा ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिवल सम्पन्न भएको छ। सानेपास्थित हेरिटेज गार्डेनमा दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलालाई सशक्तिकरण भन्ने मान्यताका साथ सम्पन्न फेस्टिवलमा प्रदर्शकको रुपमा ८० भन्दा बढी फेसन उद्यमी–व्यवसायी सहभागी भएका थिए।

आयोजक संस्थाका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले नेपालमै पहिलोपटक भिन्नै प्रकारको फेस्टिवल आयोजना गरिएकोे जनाए। अभिनेता, मोडल तथा कोरियोग्राफरसमेत रहेका ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन गर्न, यो क्षेत्रमा आवद्ध भएका सम्पूर्ण व्यक्ति, संघसंस्था र उद्यमीलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रका उपलब्धिका बारेमा जानकारी गराउन तथा नेपाल फेसन काउन्सिलको स्थापना गराउन महोत्सव आयोजना गरिएको बताए।

शुक्रबार शुरु भई आइतबार सम्पन्न फेस्टिवलमा तीन दिनसम्म फेसनसँग सम्बन्धित विभिन्न ८० स्टल राखिएको थियो भने पहिलो दिन उद्घाटन सिक्वेन्सको रुपमा बीआईए फाउण्डेसनका आठ जनाले मोडलको रुपमा ह्वीलचेयरमै र्‍याम्पमा नाच्दै फेसन शो प्रस्तुत गरेका थिए। फेस्टिवलअन्तर्गत तीनै दिन फेसन रनवेमा दुई दर्जनभन्दा बढी मोडलले विभिन्न बुटिक र डिजाइनरले तयार पारेका पहिरन प्रस्तुत गरेका थिए।

फेस्टिवलअन्र्तगत शुक्रबार डिजाइनर रनवे आयोजना गरिएको थियो। कोरियोग्राफर प्रशान्त ताम्राकारद्वारा कोरियोग्राफी गरिएको फेसन शोमा केही साताअघि अडिसनबाट छनोट भएका मोडलले विभिन्न डिजाइनरद्वारा तयार पारिएका पहिरनमा क्याटवक गरेका थिए। फेसन शोमा नमूना कलेज अफ फेसन टेक्नोलोजी, आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियसहितका कलेजका फेसन डिजाइनिङका विद्यार्थीले तयार पारेका पहिरन प्रदर्शन गरिएका थिए।

फेस्टिवलको दोस्रो दिन शनिबार डिजाइनर रनवेदेखि फोटो टकसम्मका कार्यक्रम गरिएको थियो। डिजाइनर रनवेमा मोडलहरुले विभिन्न आधा दर्जन डिजाइन, बुटिक तथा फेसन कलेजका डिजाइनले तयार पारेका अत्याधुनिकदेखि परम्परागत तथा कलात्मक पहिरन पहिरेएर उपस्थित सयौं दर्शकलाई मोडल तथा डिजाइनरले प्रभावित बनाएका थिए। फोटो टक सेसनमा फोटोग्राफरहरु राजभाई सुवाल तथा राजु भण्डारीले फोटोग्राफी सम्बन्धी अनुभव साटासाट गरेका थिए।

पहिलो सेसनमा राजु भण्डारीले सहभागिमाझ फोटोग्राफीको अनुभव, फोटोग्राफीका चुनौतीदेखि भविष्यसम्मका विषयमा चर्चा गरेका थिए। कार्यक्रम उरुषा जोशीले सहजीकरण गरेकी थिइन्। दोस्रो सेसनमा वरिष्ठ फोटोग्राफर राजभाई सुवालले ग्ल्यामर फोटोग्राफीका बारेमा आफ्ना अनुभव शेयर गरेका थिए। त्यसक्रममा उनले विगतको फोटोग्राफीदेखि अहिले डिजिटल युगको फोटोग्राफीसम्मका अनुभव शेयर गरेका थिए। उरुषाले नै सञ्चालन गरेको सेसनमा विवेकले सहजीकरण गरेकी थिइन्।

त्यसै गरी डाइभर्सिटी एण्ड इन्क्लुजन इन द फेसन इन्ड्रष्ट्रिजः रिप्रजेन्टेशन म्याटर्स शीर्षकको प्यानल डिस्कनमा मोडल निलम पौडेल, फेसन डिजाइनर उत्कृष्ट खड्का र मोडल सरोजी न्यौपाने वक्ता रहेका थिए भने सविन बस्नेतले सहजीकरण गरेका थिए। त्यसै गरी प्रेजेन्टेशन अन स्टेजअन्तर्गत एलआईएम कलेजले आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो भने गेहेन्द्र धिमाल फाउण्डेसन विद एलिजले क्वियर कर्टर आयोजना गरेको थियो।

फेस्टिभलको अन्तिम दिन आइतबार पनि डिजाइनर रनवे आयोजना गरिएको थियो। फेसन शोमा मेकअप दरबार, राष्ट्रिय पोशाक घर, सबाह नेपाल, पञ्चमणि ज्वेलर्स (मेहाका पहिरन), जुजु/करुणाका पहिरन प्रदर्शन गरिएको थिायो।