सार्वजनिक यातायातको विकल्प पोड वे

282
Shares

विश्वबजारमा सवारीसाधनको विकल्पका रूपमा रेल, केबुलकार, मोनो रेललगायत साधन आएका छन् । नेपालमा भौगोलिक बनावट र अर्थ व्यस्थाका निम्ति कस्तोखाले यातायातको साधन उपयुक्त होला, मानिसको गन्तव्यलाई सस्तो कसरी बनाउन सकिन्छ लगायत विषयमा केन्द्रित रहेर काठमाडौं पोड वे (पोड वे नेपाल) कम्पनीका सहसंस्थापक डा.शम्भु चौधरीसँग नेपाल समाचारपत्रका भवनाथ प्याकुरेलले गरेको कुराकानी ।

पोड वे भनेको के हो ?
रेल र केबलकारको मिश्रित प्रणालीलाई पोड वे भनिन्छ । यो ट्रा्यकमा गुड्ने हो । सार्वजनिक यातायाते (मास ट्रान्पोर्ट)को रूपमा प्रयोग हुने हो । यसलाई व्यक्तिगत  र्‍यापिड ट्रान्जिट (पीआरटी) भनेर पनि चिन्ने गरिन्छ । यो सार्वजनिक यातायातको सानो प्रणाली हो । जहाँ निश्चित नेटवर्कभित्र स्वचालित सवारी साधन सञ्चालन हुने गर्छन् । पीआरटीमा सामान्यतया प्रतिगाडी तीनदेखि चालिस जनासम्मले यात्रा गर्न मिल्छ । यसबाट ननस्टप, पोइन्ट टु पोइन्ट यात्रा गर्न सकिन्छ । त्यही पीआरटी सवारी साधनहरूमध्ये पोड वे एक हो । सरल भाषामा बुझ्दा एउटा स्थानबाट अर्को स्थानसम्म सहज तरिकाले पुर्‍याउने उच्च प्रविधि भएको माइक्रो रेल नै पोड वे हो । यसमा मान्छे राख्ने ठाउँलाई ‘पोड’ भनिन्छ । कम्प्युटरमार्फत नियन्त्रण गरिने यो प्रविधि सडकमाथि अथवा जुनसुकै ठाउँमा जडान गर्न सकिन्छ । यूएसटीले यात्रु र कार्गोका लागि विभिन्न मोडलका पोड डिजाइन गरेको छ। पोड वेलाई २४ सै घण्टा सञ्चालन गर्न सकिन्छ । यसमा चालक नै हुँदैनन् । यात्रुहरू त्यही पोडमा चढेर यात्रा गर्छन् । ती पोडहरू अपाङ्मैत्री हुन्छन् । यात्रुको संख्याअनुसार पोडहरू राख्ने गरिन्छ । यात्रुहरूको धेरै चाप भएको खण्डमा प्रत्येक पाँच सेकेन्डको अवधिभित्र स्टेसनमा पोड आउनेसम्म गर्न सकिन्छ । बिजुली गए पनि ती पोड १२० किलोमिटरसम्म चल्न सक्छन् । पोडमा चारओटा मोटर हुन्छन् । केही गरी तीनवटा मोटर बिग्रिए एउटाले स्टेसनसम्म पुर्‍याउने काम गर्छ । केही गरी पोड सबै बिग्रिए भने अर्को पोड गएर त्यसलाई तान्ने सकिन्छ । पोड वे चलाउन रेलको जस्तै निश्चित ट्रयाक चाहिन्छ । जुन जमिनभन्दा माथि हुन्छ । त्यस्तै यात्रुलाई ओराल्न र चढाउन ठाउँठाउँमा स्टेसन राखिका हुन्छन् भने जमिनमाथि हुने ट्रयाकलाई अड्याउन पोल हुने गर्छ । पोड वेको परियोजनाको डीपीआर तयार गर्दा स्टेसन र पोलको पनि डिजाइन गरिन्छ । तिनलाई कतिमाथि राख्ने, कस्तो स्टेसन बनाउने, पोल कस्तो राख्ने भन्ने कुरा ठाउँअनुसार फरक हुन सक्छ । तर, ती सबैको काम भने एउटै हुन्छ । डेढ वर्षमा १ सय ५० किलोमिटरसम्म पोड वेको ट्रयाक बनाउन सकिन्छ । संसारमा आजसम्म कुनै पनि यातायात प्रणाली यति चाँडो बन्दैन । तर, यसको ट्र्याक कम्तिमा ५० वर्षसम्म टिक्न सक्छ । पोड वेको प्रणाली इन्टरनेटबाट चल्ने भएकाले बाहिरी दुनियाँसँग यसको सम्बन्ध हुँदैन । यसको प्रणालीमा रहेका विभिन्न तत्वलाई केबल (तार)ले जोडेको हुन्छ । यसो हुँदा ग्लोबल नेटवर्कसँग सम्पर्क हुँदैन । यसमा रेडियो वेभ, जीपीएस तथा आपत्कालीन अवस्थाका लागि अटोब्रेकिङ सिस्टम राखिएको हुन्छ । पोडवे प्रणाली बेलारुसमा ४० वर्षसम्म गरिएको अनुसन्धानको परिणाम हो । हाल एउटा पोडवे प्रणाली युनाइडेड अरब इमिरेट्सको दुबईमा सञ्चालनमा छ । यो परीक्षण गरिएको र प्रमाणीकरण गरिएको प्रणाली हो । यसले यात्रु र सामान दुवैका लागि सुरक्षित यातायात सेवा प्रदान गर्छ ।

अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ ?

अन्तर्राष्ट्रिय जगतमा केही कम्पनीहरूले सैद्धान्तिक रूपमा काम गरिरहेका छन् । तर बेलारुसको युनिटस्काई स्ट्रिङ टेक्नोलोजिजले भने व्यवहारिक रूपमा नै विभिन्न स्थानमा पोड जडान गर्न थालेको छन् । त्यसपछि हामीले पनि त्यही प्रविधि नेपाल भित्र्याउने विषयमा काम भइरहेको छ । अहिले त्यस काममा लागि रहेका छौं । हाल हाम्रो देशमासार्वजनिक यातायातको प्राथमिक सेवा प्रदायकको रूपमा काम गर्छन् । पोड वे नेपालले यातायातका सबैखाले सेवाका लागि समयतालिका, मार्ग, योजना र समन्वयलाई एकीकृत गर्ने रणनीति लिएको छ । जस्तै, दुबई सहरमा मेट्रो, बस र ट्राम एकीकृत यातायात सेवाको अवधारणाअन्तर्गत निर्बाध सञ्चालन हुन्छन् ।

यो सवारीसाधनको विकल्प हो ?

नेपालमा सार्वजनिक यातायातमा विभिन्न प्रकारका सवारीसाधन प्रयोग भइरहेका छन् । सवारी दुर्घटनाका कारण वार्षिक लाखौंले ज्यान गुमाइसकेका छन् । यी कुराको समाधानका लागि पोड वे एउटा विकल्प बन्नसक्ने भएकले हामी आकर्षित भएका हौँ ।
नेपालमा पोड वेको उपयोगिताको विषयमा बताइदिनुहोस् ?

पोड वे काठमाडौं उपत्यकामा हुने ट्राफिक जामलाई व्यवस्थापन गर्ने, सार्वजनिक यातायातको भाडा घटाउने, मान्छेलाई यात्रा गर्न सहज हुनेजस्ता काममा उपयोगी हुन सक्छ । यसका साथै एउटा पोलबाट अर्को पोलको दूरी २ किलोमिटरसम्म राख्न राख्न मिल्छ । नेपालमा एउटा डाँडाँबाट अर्को डाँडामा लान जान मिल्छ । बाँङ्गो टिङ्गो डाँडामा पनि चलाउन मिल्छ । काठमाडौंबाट पोखरा १ घण्टामा पुग्न सकिन्छ । निजी सवारीलाई कम गराउन सकिन्छ ।

यसको सञ्चालको मोडल कस्तो हुन्छ  ?
यो पब्लिक–प्राइभेट मोडलमा बनाउँदा उचित हुन्छ ।

कम्पनीको लक्ष्य र उद्देश्य कस्ता छन् ?
हाम्रो प्राथमिक उद्देश्य अपर्याप्त सार्वजनिक यातायातका कारण मानिसले सामना गरिरहेका वर्तमान चुनौतीलाई सम्बोधन गर्दै यातायात व्यवस्थापनको उच्चतम समाधान प्रदान गर्नु हो । पोड वे सेवाबाट निजी सवारीसाधनको बढ्दो आयात र तिनले खपत गर्ने पेट्रोलियम पदार्थको आयातबाट हुने उच्च व्यापार घाटा पनि कम हुनेछ । हाम्रो दीर्घकालीन योजना यहाँको सार्वजनिक यातायातलाई युरोपेली सार्वजनिक यातायातको स्तरमा विकास गर्न सघाउनु हो ।
पहिलो चरणमा हामीले स्ट्रिङ रेल नेपाल भित्र्याउन खोजेका छौं । पहिलो पटक काठमाडौं उपत्यकामा राख्ने योजना छ । जुन अहिलेसम्म पूरा भएको छैन । आर्थिक विकासका लागि भरपर्दो सार्वजनिक यातायात आवश्यक छ । वैज्ञानिक तरिकाले डिजाइन गरिएको यो यातायात प्रणाली नेपालमा देशभरि विस्तार गर्नु हाम्रो लक्ष्य हो । हामी अहिले यो सेवा लुम्बिनी र काठमाडौं उपत्यकामा लागू गर्ने रणनीतिमा छौं । साथै कर्णालीमा पनि सेवा विस्तारका लागि सम्भाव्यता अध्ययन गरेका छौं । प्रारम्भिक चरणमा हामीले काठमाडौंको गौशालादेखि चाबहिलसम्म भीडभाड भएको क्षेत्रलाई लक्षित गरी विकास र सञ्चालन गर्ने लक्ष्य राखेका छौं । हामीले काठमाडौं उपत्यकाको नदी कोरिडोरमा सम्भावित पोड वे मार्गको विस्तार गर्न सकिने देखेका छौं । धुलिखेलदेखि नागढुंगासम्मका रुट हाम्रो योजनामा समावेश छन् ।

नेपालमा सफल हुन्छ भन्नेमा ग्यारेन्टी के छ ?
इन्जिनियरिङ मिलेको, सस्तो, सुरक्षित, जग्गा अधिकरण गर्नु नपर्ने र लगानी पनि अन्य यातायातका साधन भन्दा कम रहेको छ । यति हुँदा पनि सफल हुन्न भने के चाहिँ सफल होला र ? यो सफल हुन्छ । आमजनमानसमा सार्वजनिक यातायात सुधारिन्छ भन्ने विश्वास छ ।
राज्यले यसलाई सार्वजनिक यातायातको रूपमा राजपत्रमा प्रकाशित गरेको छ । हामी लगानी गर्न इच्छुक छौँ । जनता, लगानीकर्ता र सरकार सबै तयारी अवस्थामा भएपछि सफल हुने कुरामा ढुक्क छौँ । अर्को कुरा के हामी मेट्रो बनाउन सक्छौँ ? जुन बनाउन विज्ञहरुले १२ देखि १५ अर्ब लाग्छ भनिरहेका छन् । पोड वे प्रतिकिलोमिटर ४० करोडमा बन्छ । हामी मेट्रोका लागि तयारी भइसकेका छैनौँ । तर, सार्वजनिक यातायात व्यवस्थित बनाउनुपर्ने भएकाले पोड वेको विकल्प देखिँदैन ।

तपाईंसँग लगानी गर्नका लागि पर्याप्त रकम छ त ?

विभिन्न स्वदेशी तथा विदेशीका लगानीकर्ता इच्छुक छन् । हाम्रो परियोजना विकासका लागि राज्यबाट स्विकृत भएपछि सबै लगानीकर्ताको लगानी भित्र्याइ प्रविधिको विकास गर्दछौँ । नेपालमा लगानी गर्ने क्षेत्र नभएर मानिस जग्गा, सेयर बजारलगायतमा लगानी गरिरहेका छन् । यो अवस्थामा लगानी सहजै प्राप्त हुन्छ । राज्यबाट सहजीकरण हुने अवस्थामा यस प्रविधिमा लगानी जुटाउन कुनै गाह्रो छैन । आइपीओ जारी गरेर पनि लगानी जुटाउनु सकिन्छ । मूल कुरा सार्वभौम संसद्मा पनि यो प्रविधि बनाउने विषय उठेको थियो । लगानी सम्मेलनमा पनि पोड वेमा लगानी खोजिएको थियो। त्यसकारण राज्य पनि यो प्रविधिका विषयमा सकारात्मक नै देखिन्छ। यस्तो प्रविधिमा लगानीकर्ता आकर्षित नै देखिन्छन्। यो सार्वजनिक र सामूहिक लगानीबाट निर्माण हुने विषय हो। हामीले गरेको अध्ययन, छलफबाट प्रस्ट छौँ लगानी जुटाउन कुनै समस्या हुँदैन ।

यो र अन्य यातायातको सवारी साधनबीच के फरक ?
यी दुवै एउटा निश्चित ट्र्याकमा गुड्ने भएपनि प्रयोग हुने प्रविधि फरक छ । एउटा मेट्रोले सामान्यतया दुई हजार यात्रुलाई बोक्ने गर्छ भने ४० ओटा पोडले त्यति यात्रु बोक्ने गर्छ । एउटा ठूलो पोड बसजस्तै हुन्छ । त्यसमा ४० जनासम्म चढ्न मिल्छ । हामीले नेपालमा ल्याउने पोडमा क्रमशः १४, २८ र ४० जना बस्न मिल्छ । कुनै पनि मेट्रो रेलको परियोजना निर्माणमा लाग्ने कुल खर्चको चार प्रतिशतमा उही क्षमताको पोड वे बनाउन सकिन्छ । साधारणतया मेट्रो रेलको अधिकतम गति ८० किलो मिटर प्रतिघण्टा हुन्छ भने पोड वेको १ सय ५० किलोमिटर प्रतिघण्टा हुन्छ । त्यस्तै मेट्रो रेल म्यानुअल्ली चलाउनुपर्छ भने पोड वेको कहाँ, कति, गति लिनुपर्ने त्यसको निर्धारण प्रणाली आफैंले स्वतः गर्छ । पोड वेको क्षमता मेट्रो रेलसँग समान हुन्छ । तर, मेट्रोको तुलनामा पोड वेले शक्ति निकै कम खपत गर्छ । यसको निर्माण कार्य अन्य कुनै पनि यातायात प्रणालीको तुलनामा चाँडो सम्पन्न हुन्छ । रेलमा फलामको चक्का हुन्छ । यसमा पनि फलामकै चक्का हुन्छ । फरक यति हो कि, रेल जमिनमा गुड्छ, यो जमिन माथि । तर, यो रेलभन्दा कयौं गुणा सस्तो हुने गर्छ ।

पोड वे सञ्चालनमा जग्गाको विवाद हुँदैन ?

नेपालमा हामीलाई पोड वे बनाउँदा मुआब्जामा समस्या छैन । किनकि सडक वा खोलामाथि पनि यसलाई बनाउन सकिन्छ । रेल दुई सय वर्ष पुरानो प्रविधि हो । यसको ट्रयाकमा दुई ओटा रेल आपसमा ठोक्किने सम्भावना निकै हुन्छ । तर पोड वेमा त्यो सम्भावना हुँदैन ।

यसमा चढ्नका लागि टिकट काट्ने प्रविधि कस्तो छ ?

चढ्ने यात्रुले हाम्रो एप प्रयोग गर्नुपर्छ । एपबाटै नजिकका स्टेसनमा आइरहेका तथा गइरहेका पोडबारे थाहा पाउन सक्छ । सिट खाली छ, छैन, त्यो पनि त्यहींबाट हेर्न सकिन्छ । यात्रुले एपबाटै आफ्नो सिट बुक गर्न वा स्टेसनमै आएर टिकट काट्न सक्छन् । एउटा निश्चित ट्रा्याकमा पोड घुमिरहन्छन् । यिनको क्षमता भने मेट्रोरेलसरह हुने गर्छ ।

के यो विद्युत्बाट मात्र सञ्चालन हुने हो ?

यो विद्युत्बाट मात्र सञ्चालन हुने हो । यसमा चार्जेबल ब्याट्री पनि लाग्ने गर्दछ । अहिले हाम्रोमा दैनिक ३ सय ९३ मेगावाट विद्युत् खेर गइरहेको छ । यता हामी भारतलाई विद्युत् बेचेको भन्छौं । तर, जतिमा बेच्छौं, त्योभन्दा बढीमा किनिरहेका हुन्छौं। यसकारण यहाँको विद्युत्लाई यहीं खपत गर्नुपर्ने हुन्छ । नेपालमा यातायात प्रणालीमा पोड वे आए विद्युत् खेर जाने सम्भावना पनि हुँदैन । पोडवे पूर्णरूपमा विद्युतबाट सञ्चालन हुन्छ, जसले गर्दा कार्बन उत्सर्जन हुँदैन। जसले वातावरणीयरूपमा लाभदायी छ । विद्युत् शक्तिबाट चल्ने हुनाले यसको सेवा विस्तारले पेट्रोलियम पदार्थको आयात घटाउन सकिन्छ ।

ट्र्याक जुनसुकै ठाउँमा बनाउन मिल्छ ?

रेलको ट्र्याक राष्ट्रिय निकुञ्जमा बनाउन मिल्दैन । किनकि त्यसो गर्दा वन्यजन्तुलाई असर गर्छ । तर, पोड वे जमिनमाथिबाट सञ्चालन हुने भएकाले त्यस्तो समस्या हुँदैन ।

रेलमार्ग र पोड मार्ग बनाउँदा लाग्ने खर्च र पार गर्ने दूरी कस्तो रहेको छ ?

यदि त्यसको साटो पोड वे बनाउने हो भने, रेलमार्ग बनाउने कुल लागतको ५० प्रतिशतभन्दा कम लागतमा पोड वे निर्माण सम्पन्न गर्न सकिन्छ । यसको मूल कम्पनीले ५ सय किलोमिटर प्रति घण्टासम्मको गतिमा गुड्नसक्ने पोडलाई सैद्धान्तिक रूपमा पुष्टि गरेका छन् ।

पोड वे सञ्चालनमा नेपालमा कानुन छ त ?

नेपालको कानुनले पोडवेलाई यातायातको वैध माध्यमको रूपमा मान्यता दिएको छ । परियोजना अगाडि बढाउन हामी भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयसँग सक्रियरूपमा छलफलमा छौं । साथै, हामीले काठमाडौं महानगरपालिका र अन्य स्थानीय सरकारसँग छलफल गरेका छौं ।

पोड वेमा पनि युनिकार, युनिबस, युनिफ्लास र युनिकोन्ट यातायात सेवा छन् । यीमध्ये कुन सेवा पहिले सुरु गर्ने योजना रहेको छ ?
हामीसँग जुनसुकै प्रणाली लागू गर्ने क्षमता छ । तर, छनोट सरकारको आवश्यकता र प्राथमिकतामा निर्भर हुन्छ । काठमाडौंजस्ता शहर केन्द्रका लागि युनिबस सबैभन्दा उपयुक्त विकल्प सावित हुनसक्छ । यद्यपि अन्तिम निर्णय गर्ने अधिकार त सरकारसँगै हुन्छ ।

पोडवे नेपाल सेवा आपूर्तिकर्ता कम्पनी वा सेवाप्रदायक कम्पनी हो ?

हामी मुख्यतया प्रविधि आपूर्तिकर्ता कम्पनी हौं । तर आवश्यक परे सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलअन्तर्गत सेवा सञ्चालन गर्न पनि सक्छौं । हाम्रो क्षमता अध्ययन गर्ने, डिजाइन तयार गर्ने, निर्माण र प्रणालीको सञ्चालन गर्नेसम्मको छ । हामी यो यातायात सेवाका सबैखाले समाधान दिन सक्छौं । हाम्रा प्रवद्र्धक इन्जिनियरिङ, औषधि, व्यापारलगायत विविध पृष्ठभूमिबाट आउनुभएको छ । सक्षम, योग्य प्रवद्र्धक र कर्मचारीका कारण हामी यो सेवासँग सम्बन्धित परियोजना प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्षम छौं ।

पोड वे प्रणाली यात्रुका लागि सुरक्षित छ ?

पोड वे प्रणाली पूर्णरूपमा सुरक्षित यातायातको प्रणाली हो । ठाउँ हेरेर अतिरिक्त सुरक्षाका विशेषता थप्न सकिन्छ । प्रत्येक पोडमा एक उद्धार प्रणाली हुन्छ । चल्दै गरेको जेनेरेटर बिग्रेमा तुरुन्त सेवा सञ्चालन गर्न दुई अतिरिक्त जेनरेटर जोडिएका हुन्छन् । यसबाहेक सेवाको विश्वसनीयता र सुरक्षा सुनिश्चित गर्न सेवाको कसिला परीक्षण गरिएको हुन्छ ।

पोड वे प्रविधिलाई थप परिष्कृत र प्रयोगकर्तामैत्री बनाउन के कस्तो अनुसन्धान भएका छन् ?

युनाइटेड अरब इमिरेट्सको सारजाह रिसर्च सेन्टरमा हाल पोडवे प्रविधिलाई थप परिष्कृत गर्न र यसको सेवाको प्रभावकारिता बढाउन महत्वपूर्ण अनुसन्धान भइरहेको छ । यो प्रविधिको प्रभावकारिता पहिले नै प्रमाणित भइसकेको छ ।

पोड वे सञ्चालन गर्न सरकारी निकायले सहजीकरण गर्ला ?

हाम्रो प्रयास सफल बनाउन सरकारी समर्थनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले हामी यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, प्रदेश सरकार, स्थानीय सरकारलगायत प्रमुख सरोकारवालासँग निरन्तर छलफल जारी राख्छौं । हाम्रो परियोजनाको सफलताका लागि विशेषज्ञको मार्गदर्शन पनि महत्वपूर्ण रहनेछ ।

अन्य देशमा सार्वजनिक यातायातको रूपमा सञ्चालन नआइसकेको प्रविधि नेपालमा लागू गर्न सकिन्छ ?

अरूले गर्लान र हामी गर्दछौ भनेर बस्नुहुँदैन । केही विषयमा पहिलो भएर काम गर्नुहुँदैन भनेर कहीँ लेखेको छ र ? यो विज्ञान मिलेको र युनाइटेड अरब इमिरेटमा सफल परीक्षण भएको प्रविधि हो । यति देखर बुझेपछि गर्न सक्छौँ भनेर लागेका हौँ । यसको प्राविधिक पक्षको परीक्षण पनि भइसकेको छ ।