राजधानीमा मनाइयो चलचित्र पत्रकारिता दिवस

समाचार सम्पादक गिरी रजत सम्मानबाट सम्मानित



काठमाडौं ।

चलचित्र पत्रकार संघ नेपालले सोमबार राजधानीमा एक समारोह आयोजना गरी फिल्म पत्रकारलाई सम्मान र पुरस्कार प्रदान गर्दै चलचित्र पत्रकारिता दिवस तथा रजत स्थापना दिवस मनाएको छ।

राजधानीको नक्सालस्थित लिसारा रिसेप्सनमा आयोजित समारोहमा प्रमूख अतिथि उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात्रमन्त्री रघुवीर महासेठले ३४ वर्षदेखि फिल्म पत्रकारितका क्षेत्रमा योगदान पुर्‍याएवापत नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरीलाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट सम्मानित गरे।

संघ स्थापना भएको जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएको संघले संघका पूर्वअध्यक्षसमेत रहेका गिरीलाई ५५ हजार पाँच सय ५५ रुपियाँसहित चलचित्र पत्रकारिता रजत सम्मान २०८१ बाट सम्मान गरेको हो। संघका अध्यक्ष समिर बलामीको सभापतित्वमा सम्पन्न समारोहमा गिरीसहित अन्य सात फिल्म पत्रकारलाई सम्मान तथा पुरस्कार गरिएको थियो।

सो अवसरमा पत्रकार कृष्ण भट्टराई र राज श्रेष्ठलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मानबाट सम्मानित गरिएको छ। त्यसै गरी पत्रकार सुरज खड्का र अशेष अधिकारीलाई जनही नगद ५१ हजार रुपिया“सहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो भने मदन रिजाल र शिव पुनलाई जनही २५ हजार रुपियाँसहित क्रमशः राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन र राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि महासेठले नेपालालालाई सुटिङ गन्तव्यको रूपमा विश्वमाझ परिचित गराउनुपर्नेमा जोड दिए। महासेठले संघका पदाधिकारी तथा चलचित्रकर्मीहरूलाई मंगलबार मन्त्रालयमा निमन्त्रणा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेतको उपस्थितिमा छलफल गरी सरकारको तर्फबाट सक्दो सहयोग गर्नुका साथै बजेट सेसनमा फिल्म छेत्रका लागि बजेट छुट्याउन पहल गर्ने बताए।

संघका अध्यक्ष समिर बलामीले संघको रजत जयन्तीस“गै फिल्म पत्रकार सच्चिएर जानुपर्नेमा जोड दिए। ‘संघको एकवर्षे कार्यकालमा हामीले करिब एक दर्जन बढी कार्यक्रम गरिसकेका छौँ। चलचित्र पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन आगामी दिनमा पनि विभिन्न कार्यक्रम गर्नेछौँ,’ बलामीले भने।

विशेष अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र, गीत संगीत, नृत्यजस्ता विभिन्न विधालाई अघि बढाउन चलचित्र पत्रकारको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै चलचित्र पत्रकारिताबिना चलचित्र क्षेत्र अपूरो हुने बताए। त्यसै गरी सम्मानित र पुरस्कृत पत्रकारहरूको तर्फबाट बोल्दै संघका अध्यक्षसमेत रहेका विदुर गिरीले आफुले सम्मान र पुरस्कारका लागि पत्रकारिता नगरे पनि संघको रजत सम्मानले भावुक बनाएको र आगामी दिनमा पत्रकारितालाई अघि बढाउन थप हौसला मिलेको बताए।

संघका पूर्वअध्यक्ष शान्तिप्रियले चलचित्र पत्रकारले बौद्धिकता र पेसागत मर्यादालाई कायम राख्दै नयाँ बाटो कोर्न प्रतिबद्ध हुनुपर्ने सुझाव दिए। संघका उपाध्यक्ष कुबेर गिरीले संघले चलचित्र पत्रकारको हक हितका लागि काम गर्दै उनीहरूलाई प्रोत्साहन र सम्म्मान गर्दै अगाडि बढेको बताए।

संघका महासचिव रघुनाथ सापकोटाद्वारा सञ्चालित समारोहमाम अभिनेत्री तथा निर्देशक दिपाश्री निरौलाले चलचित्र पत्रकारहरूले निष्पक्ष र खोजमुलक पत्रकारिता गर्नुपर्ने औंल्याउँदै कला क्षेत्रको उत्थानमा महत्वपूर्ण भुमिका खेलेको बताइन्। अभिनेत्री वसुन्धरा भुषालले पनि फिल्म क्षेत्रमा चलचित्र पत्रकारको भूमिकाको चर्चा गरिन्।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले आफु पनि चलचित्र पत्रकारिता गर्दै कलाकारितामा अघि बढेको जानकारी गराउँदै चलचित्र पत्रकारले कलाकारलाई आँखा देखाउँदै सचेतकको भूमिका निर्वाह गर्दै आएको चर्चा गरे।

कार्यक्रममा सन्तोष बस्याल र सहिमा श्रेष्ठले गीत संगीत तथा विजेता अधिकारी, रमा न्यौपानेलगायतले नृत्य प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्