आर्यन आफ्नै पिताको लुक्समा

70
Shares

काठमाडौं ।

अभिनेता आर्यन सिग्देल नास्तिक पनि होइनन् र एकदम आस्तिक पनि छैनन्। उनी भगवान् बाहिर होइन आफ्नै मनमा छन् भन्नेमा विश्वास गर्छन्। उनै आर्यन आगामी शुक्रबार रिलिज हुने फिल्म पुजार सार्कीमा ब्राह्मण चरित्रमा देखिँदै छन्।

आर्यन ब्राह्मण समुदाय र पिता पण्डित भए पनि उनमा पूजा पाठको गुण केही छैन। ‘म आउट अफ टयाकको मान्छे हुँ। मेरो बुवा पण्डित हुनुहुन्छ। बुवा पण्डित भए पनि मचाहिँ खासै टिका नलगाउने मान्छे परेँ। म मनमा भएको भगवान् देखाइरहनु पर्दैन भन्नेमा विश्वास राख्छु,’ आर्यन भन्छन्।

उनल पुजार सार्कीमा देखिने आफ्नो ब्राह्मण लुक आफ्नै पिताबाट प्रभावित भएको खुलाए। आर्यनका अनुसार फिल्मका निर्देशक दिनेश राउतले आर्यनका बुवाको तस्बिर देखेका थिए। फिल्मका पात्र चयन गर्ने क्रममा राउतलाई त्यो फोटो याद आयो। अनि आर्यनसँग सोही फोटो मागेर क्यारेक्टरमा काम गर्न थाले।

‘मलाई पुजारीको चरित्र निभाउन मिहिनेत गर्नुपर्‍यो। तर, लुक्स बनाउन भने मिहिनेत गर्नु परेन। दिनेशले मेरो बुवाको पुरानो फोटो सम्झिएका रहेछन्। उनले त्यो फोटो मागेपछि दिएँ। त्यो फोटोअनुसार मेरो लुक्स ट्राई गर्नेबित्तिकै फाइनल भयो। तर, क्यारेक्टरको गहिराइबारे सोच्दा अलिक गाह्रो भयो,’ आर्यनले सुनाए ‘मेरो त्यो लुक्स बाहिरिएपछि बुवासमेत खुसी हुनुभयो। निकै सुहाएको छ, मेरै कपी गरिछस् भन्नुभयो।’

सामाकी कथामा बनेको फिल्ममा आर्यनको अपोजिटमा अभिनेत्री अञ्जना बराइली छिन्। अञ्जनाले दलित समुदायको प्रतिनिधित्व गर्ने चरित्र निर्वाह गरेकी छन्। फिल्ममा पूजारी बनेका आर्यनको प्रेम अञ्जनासँग हुन्छ।

‘पूजार सार्कीमा मैले पूजापाठ गर्दागर्दै अञ्जनासँग अफेयर हुने हो। मेरो चरित्र आफूभित्रै द्वन्द्व गरेको, पीडा बोकेर हिँडेको किसिमको छ। त्यस कारण प्रेम गर्दा पनि म त्यति साह्रो खुल्न पाउँदिनँ। र पूजा गर्दा पनि धेरै पूजा गर्न पाउँदिनँ,’ आर्यनले फिल्मको कथा खुलाउँदै भने, ‘अहिले पनि मान्छेमा जातीयताको विषयमा शिक्षाको कमी छ। अहिले पनि कतिपय यस्ता घटना भइरहेका छन्। कति त समाचारमा आए होलान्, समाचारमा नआएका कति घटना पनि होलान्। त्यहि परिस्थितिसँग जुधेर फिल्म अगाडि बढेको छ।’

नेपाली रजतपटमा लभर व्वाईको छवि बनाएका आर्यन पुजार सार्कीबाट आफ्नो छवि बदल्ने कोसिसमा छन्।

‘हामीले यो धारको फिल्म पनि गर्नुपर्छ र अर्को मूलधारको फिल्म पनि गर्नुपर्छ भन्ने मेरो मान्यता छ। दुवैलाई सन्तुलन गरेर अगाडि लैजान सकियो भने उद्योगलाई पनि फाइदा हुन्छ। राम्रो स्क्रिप्ट आयो भने प्रेमकथाको फिल्म पनि गर्छु। राम्रो तर फरक भूमिकाको स्क्रिप्ट आयो भने त्यसलाई बढी प्राथमिकता दिन्छु’ आर्यन भन्छन् ‘मलाई फरक चरित्रमा प्रस्तुत गर्न हिचकिचाइरहनुभएका निर्मातालाई यो फिल्मले उहाँहरूको हिचकिचाहट मेटाइदिन्छ। यसमा शारीरिक हाउभाउदेखि लिएर लुक्स, सँगसँगै कास्कीकोटको भाषाको सीमा पनि थियो। सबै चिजलाई मर्ज गर्दा पुजार सार्की अलिक टफ भयो।’