डी सिने अवार्डमा प्रदीप र आँचल अब्बल



काठमाडौं ।

छायाँछवि क्रियसनको आयोजनामा शुक्रबार राजधानीमा १५औं संस्करणको डी सिने अवार्ड सम्पन्न भएको छ। २४ विधामा अवार्ड प्रदान गरिएको समारोहमा फिल्म प्रकाशबाट प्रदीप खड्का र झिंगेदाउबाट आँचल शर्माले अभिनेता र अभिनेत्रीको अवार्ड चुमे भने झिंगेदाउले सर्वोत्कृष्ट फिल्मको अवार्ड पाएको छ।

त्यसै गरी प्रकाशबाट दिनेश राउत निर्देशक, लाखेबाट सम्राट बस्नेत जुरी अवार्ड, छक्कापञ्जा ४ पपुलर फिल्म, नालापानी राष्ट्रिय फिल्म, डेसानबाट कमल एक्चै मगर नवनिर्देशक र नम्रता सापकोटा सहअभिनेत्री, लाखेबाट रोहित रुम्बा सहअभिनेता र प्रशान्त ताम्राकार खलपात्र, प्रकाशबाट प्रकाश घिमिरे र झिंगेदाउबाट हिउँवाला गौतम चरित्र अभिनेता र चरित्र अभिनेत्री, प्रकाशबाट विकास कथाकार, झिंगेदाउबाट प्रदीप भारद्वाज पटकथा एवं संवाद लेखक, छक्का पञ्जा ४ नरेन्द्र मैनाली छायाँकार, प्रकाशबाट जीवन थापा फिल्म सम्पादकको अवार्ड विजेता बने।

विभिन्न गीत संगीत र नृत्य प्रस्तुतिका साथ अघि बढाइएको कार्यक्रममा फिल्म हिजोआजका कुराबाट दीपक शर्मा संगीतकार, छक्का पञ्जा ४ बाट डेविड शंकर गायक, सहिमा श्रेष्ठ गायिका र कविराज गहतराज नृत्य निर्देशक, झिंगेदाउबाट मुक्त उदास गीतकार र सास्वत श्रेष्ठ पाश्र्व संगीत र लाखेबाट सम्राट बस्नेत द्वन्द्व निर्देशकको अवार्ड विजेता भए।

नायिका तथा कोरियोग्राफर पवित्रा आचार्यले शानदार नृत्य प्रस्तुत गरेको कार्यक्रममा हास्य अभिनेता जीतु नेपाल र पाश्र्व गायिका माण्डवी त्रिपाठीलाई फिल्मकर्मी रजत सम्मान, पत्रकार मणिराज गौतमलाई १५ हजार पाँच सय ५५ रुपियाँसहित छायाँछवि रंग पत्रकारिता पुरस्कार, अभिनेता सविन श्रेष्ठलाई छायाँछवि विशेष सम्मान, अभिनेता शिवहरी नेपाल वैरागीलाई छायाँछवि कलाकार सम्मान, रुद्रशेखर शर्मालाई छायाँछवि संगीत सम्मान, दिप्रश शाक्यलाई छायाँछवि प्रदर्शक सम्मान, रोशन श्रेष्ठलाई छायाँछवि कलाकारिता योगदान सम्मान, विराज विष्टलाई छायाँछवि कला सम्मान, अर्जुन खरेललाई छायाँछवि संगीत सम्मान र च्याङ्बा लामालाई छायाँछवि फोटोग्राफी सम्मानबाट सम्मानित गरिएको थियो।

निराजन भण्डारीद्वारा सञ्चालित कार्यक्रममा अवार्डका अध्यक्ष शान्तिप्रियले अवार्डको औचित्यमाथि प्रकाश पारेका थिए।

प्रतिक्रिया दिनुहोस्