निजामती सेवामा नयाँ कीर्तिमान

कृष्णकुमारी भइन् पहिलो ‘टपर’ महिला सहसचिव



काठमाडौं ।

नेपाल प्रशासन सेवा सहसचिवतर्फको खुला प्रतियोगितामा कृष्णकुमारी श्रेष्ठ नयाँ कीर्तिमान कायम गर्न सफल हुनुभएको छ।

लोकसेवा आयोगले गत शुक्रबार प्रकाशित गरेको सहसचिवतर्फको खुला प्रतियोगिताको नतिजामा पहिलो नम्बरमा सिफारिसमा पर्न सफल भई उहाँले निजामती सेवामा सहसचिवतर्फ पहिलो महिला ‘टपर’ को नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।

लोकसेवा आयोगले शुक्रबार नतिजा प्रकाशित गरेको सहसचिव खुलातर्फ विज्ञापन नं १६६५८/०८०/८१ को परिक्षामा लिखिततर्फ १ हजार २५ जना सहभागी थिए । निजामती सेवाको नीतिगत तहमा समेत विशेष भूमिका हुने भएकाले सहसचिव पद निकै महत्वपूर्ण र आकर्षक पद हो। जसको लागि कडा प्रतिस्पर्धा हुने गर्दछ। निश्चित योग्यता र दक्षता पुगेका बाह्य जनशक्तिले पनि नेपाल सरकारको सहसचिवमा खुलातर्फ प्रतिस्पर्धा गर्न पाउने भएकोले प्रतिस्पर्धामा धेरैको सहभागिता रहने गर्दछ ।

लोकसेवा आयोगले यस वर्ष सहसचिव खुलातर्फ २ पदमा मात्रै माग गरेको थियो । त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा उपसचिवको रूपमा कार्यरत श्रेष्ठले निजामती सेवाभित्र र बाहिरका सबैलाई उछिनेर पहिलो नम्बरमा नाम निकाल्नुभएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द निरौलाले यसअघि सहसचिव खुलातर्फ महिलाहरूले पहिलो नम्बरमा नाम ननिकालेको जानकारी दिँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘उहाँले १ नम्बरमै नाम निकालेर नयाँ कीर्तिमान राख्नुभएको छ, उहाँलाई बधाई छ ।’

खुलातर्फ पहिलो नम्बरमा नाम निकालेर शुक्रबार नै सहसचिवमा सिफारिस हुनुभएकी श्रेष्ठ २०७० साल भदौ १९ गते शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएको थियो । त्यसपछि उहाँ ५ वर्षभित्रै २०७५ साल असार २७ गते उपसचिवको परीक्षामा उत्तीर्ण हुन सफल हुनुभएको थियो । उपसचिव भएको ६ वर्षभित्रै उहाँ सहसचिव बन्न सफल हुनुभएको हो ।

अध्ययन र कार्यालयको कामलाई सँगसँगै लैजान सकेकाले आफूले सफलता हासिल गरेको बताउँदै श्रेष्ठले भन्नुभयो– ‘टपर नै हुन्छु भनेर त सोचेको थिइँन, तर पढाइप्रति मेरो धेरै नै लगाव थियो, त्यसैले सफल हुन सकेँ ।’ कामलाई पूजा र ज्ञान दुवै मानेर काममा खटिने बानीले हासिल भएको व्यावहारिक ज्ञान र अध्ययनप्रतिको लगावले पनि लोकसेवामा सजिलै नाम निकाल्न सहज भएको उहाँको भनाइ थियो।

कामको सिलसिलामा कतै अनुगमनमा जाँदा पनि त्यसलाई पढाइसँग जोडेर हेर्ने र सबै विषयको नियमित टिपोट राख्ने आफ्नो बानीका कारण पनि आफूलाई सहज भएको जिकिर गर्दै उहाँले एउटा स्मरण सुनाउनुभयो– ‘म रक्षा मन्त्रालयमा हँुदा एउटा सुरक्षा चुनौती र अवस्थाका बारेमा आयोजना गरिएको गोष्ठीमा सहभागी भएको थिएँ । त्यहाँ सुरक्षा निकायका सबै प्रमुखहरूले सुरक्षा अवस्था र चुनौतीका बारेमा विश्लेषण गर्नुभयो। ती सबै कुराहरू मैले आफ्नो नोटमा टिपोट गरेकी थिएँ। संयोगले सहसचिवको परीक्षामा एउटा प्रश्न सोही विषयसँग सम्बन्धित नै आयो, जसले गर्दा जवाफ लेख्न मलाई निकै सहज भयो।’

उपसचिव भएपछि उहाँ गोरखा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर जानुभएको थियो । १८ महिना त्यहाँ बस्दा कामकै सिलसिलामा स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारबीचको सम्बन्ध, सहअस्तित्व र सहकार्यका बारेमा नजिकबाट बुझ्न पाएको, संघीयताको अभ्यास र चुनौतीका बारेमा गहिरो जानकारी प्राप्त भएको र यसले पनि लोकसेवाको परीक्षामा धेरै सहयोग पुगेको उहाँको भनाइ थियो ।

काम नै छोडेर लामो समय विदामा बसेर लोकसेवाको तयारी गर्नु नपर्ने धारणा राख्दै श्रेष्ठले भन्नुभयो– ‘काम गर्दै, व्यावहारिक ज्ञान लिँदै पढ्दा सफलता हासिल गर्न सकिन्छ भन्ने मेरो अनुभवले देखाएको छ । मैले चैतन्यबाट ५ दिनको प्रशिक्षण कक्षा लिएकी छु । त्यसबाहेक अरू कुनै पनि दिन ट्युसन पढेकी छैन ।’

अध्ययनप्रतिको आफ्नो लगावका बारेमा जिकिर गर्दै उहाँले भन्नुभयो– ‘कहिलेकाँही पढ्दापढ्दै यतिसम्म पढिएछ कि संविधानका कतिपय धारा उपधाराहरू आँखा चिम्लेर कण्ठस्थ पारिएछ, जुन कहिल्यै पनि बिर्सदैन।’

लोकसेवाको तयारी गरिरहेकाहरूका लागि सफलताको सूत्रका बारेमा सोधिएको प्रश्नमा टपर सहसचिव श्रेष्ठले भन्नुभयो– ‘सबैभन्दा पहिला समयको उचित व्यवस्थापन गर्नुपर्छ। पढाइलाई नै सबैथोक ठान्नुपर्छ। दैनिक टिपोटसहितको नोट बनाउनुपर्छ। काम र पढाइलाई सँगसँगै लानुपर्छ। हरेक विषयमा स्पष्टता खोजी गर्नुपर्छ। आवश्यक परे कुनै विषय कण्ठ पनि पार्नुपर्छ । परीक्षाको तयारी थालेपछि नसकिँदासम्म सकेसम्म घुमघाम बन्द गर्नुपर्छ ।’’

पाल्पा रामपुर नगरपालिका– ८ मा जन्मिएकी श्रेष्ठ हाल चन्द्रागिरि नगरपालिका ७ काठमाडौं निवासी हुनुहुन्छ। उहाँका श्रीमान् जगतबहादुर बानियाँ नेपाली सेनामा सुबेदार पदमा कार्यरत हुनुहुन्छ। २०६७ सालमा बानियाँसग वैवाहिक सम्बन्ध गाँस्नुभएकी श्रेष्ठले आफ्नो सफलताको श्रेय श्रीमान्को सहयोग र हौसलालाई दिनुभयो।

प्रतिक्रिया दिनुहोस्