लाइसेन्सको ट्रायल रोकिँदा हजारौं सर्वसाधारण पीडित

सर्तकता केन्द्रमाथि रकमको बार्गेनिङ गरेको आरोप



काठमाडौं ।

काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र ( ड्राइभिङ लाइसेन्स) को ट्रायल तथा लिखित दुवै परिक्षा एकाएक रोकिँदा हजारौं सर्वसाधारण पीडित बनेका छन्।

महिनौं कुरेर बल्लबल्ल ट्रायल दिने पालो आएपनि अनावश्यक रुपमा ट्रायल परीक्षा रोकिएको भन्दै पीडितहरूले तत्काल परीक्षा सञ्चालन नगरे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन र छानबिनको बहानामा काठमाडौं उपत्यकाका चारवटा ट्रायल सेन्टर मात्रै बन्द गराएको र अन्य जिल्लाका ट्रायल सेन्टरहरू भने चालु राखेको भन्दै ट्रायल सेन्टरका सञ्चालकहरूले आक्रोश पोखेका छन्। सर्तकता केन्द्रले रकमको बार्गेनिङ गरेको र नपाएपछि अनुगमनको बहाना बनाएर दुःख दिएको उनीहरूको गुनासो छ।

गत शुुक्रबार ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरी ट्रायल सेन्टरमा नगएपछि एकाएक सो दिनको ट्रायल रोकिन पुगेको थियो। काठमाडौं उपत्यकामा रहेका भक्तपुरको राधेराधे, एकान्तकुना, चाबहिल र गुर्जुधारामा रहेका चारवटा ट्रायल सेन्टरहरू एकाएक बन्द हुन पुगेपछि ट्रायल दिने तयारीमा रहेका २ हजार सर्वसाधारण पीडित बनेका थिए।

यातायात कार्यालयले सर्तकता केन्द्रको निर्देशन भन्दै अर्को सूचना जारी नभएसम्म ट्रायल र लिखित परीक्षा स्थगित गरिएको सूचना जारी गरेपछि ट्रायलको पालो कुरेर बसेका सर्वसाधारणहरू सर्तकता केन्द्रले दादागिरी देखाउँदै आतंक मच्चाएको भन्दै सर्तकता केन्द्रप्रति आक्रोशित भएका थिए। पालो कुरेर बसेकाहरूमध्ये कतिपय विदेश जाने तयारीमा छन्। ट्रायल दिएर विदेश जाने अन्तिम तयारीमा रहेकाहरूले ट्रायल परीक्षा रोकिँदा विदेश जाने टिकट समेत रद्द गर्न बाध्य भएका छन्।

काठमाडौं उपत्यकामा रहेका चारवटा ट्रायल सेन्टरहरूले भने आफूहरूले सबै प्रक्रिया पु¥याएर सरकारको आधिकारिक निकायसँग सम्झौता गरी वर्षौंदेखि ट्रायल परीक्षा सञ्चालन गर्दै आइरहेको दाबी गरेका छन् । चारवटै ट्रायल सेन्टरका सञ्चालकहरूको गुनासो छ– ‘सर्तकता केन्द्रले निजी क्षेत्रलाई प्रत्यक्ष रूपमा पत्र पठाएर हचुवाको आधारमा यो भए , त्यो भएन भन्न पाउँदैन, यो हाम्रो लागि सह्य छैन्।’

ती सञ्चालकहरूले सर्तकता केन्द्रले अनुगमनको बहानामा काठमाडौं उपत्यकामा रहेका ट्रायल सेन्टरलाई अनावश्यक तारो बनाएको बताए। उनीहरूले आफू अन्यायमा परेकाले सरकारको अन्य निकायले न्याय दिनुपर्ने मागसमेत गरे। सर्तकता केन्द्रले काठमाडौंबाहेक अन्यत्र जिल्लाको ट्रायल सेन्टरको बारेमा कुनै अनुगमन नगर्दा केन्द्रको अनुगमनप्रति आशंका जन्मिएको छ ।

उता, सतर्कता केन्द्रले भने काठमाडौं उपत्यकामा रहेका अधिकांश ट्रायल सेन्टरहरू मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएकाले उनीहरूलाई मापदण्डअनुसार सञ्चालन गर्न आवश्यक पत्राचार गरिएको जनाएको छ । केन्द्रका सचिव रामआधार शाहले केन्द्रले गरेको अनुगमनमा अधिकांश ट्रायल सेन्टर मापदण्डविपरीत रहेको पाइएकाले मापदण्ड पालना गर्न पत्राचार गरिएको बताउनुभयो।

यद्यपि, ट्रायल सेन्टरका सञ्चालकहरूले भने सतर्कता केन्द्रले गरेको अनुगमन र छानबिनप्रति नै प्रश्न उठाएका छन् । केन्द्रले राम्रा इन्जिनियर ल्याएर ट्रायल सेन्टरको परीक्षण गर्नुपर्नेमा सामान्य अमिन ल्याएर परीक्षण गरेकाले समस्या आएको एक ट्रायल सेन्टरका सञ्चालकले बताए।

‘अमिन ल्याएर नापिएको छ, अमिनलाई यसका प्राविधिक पक्ष खासै थाहा हँुदैन, त्यसैले सर्तकता केन्द्रले हचुवाका अधारमा मापदण्ड नपुगेको प्रतिवेदन बनाएको हो, त्यो गलत छ हामीलाई दुःख दिने नियतले गरिएको हो।’ – ती सञ्चालकले भने।

सर्तकता केन्द्रमाथि ट्रायल सेन्टरको अनुगमन गरी मापदण्ड नपुगेको भन्ने प्रतिवेदन बनाउनुअघि ट्रायल सेन्टरहरूसँग रकमको बार्गेनिङ गरेको आरोप लागेको छ।

सर्तकता केन्द्रकै सचिवमार्फत् केही व्यक्तिहरूले आफूहरूसँग रकमको बार्गेनिङ गरेको आरोप लगाउँदै सञ्चालकहरूले भने– ‘रकम नपाएपछि हावादारी प्रतिवेदन बनाएर ट्रायल सेन्टरलाई बद्नाम गराइएको हो।’

प्रतिक्रिया दिनुहोस्