रावायणको गीत भारतमा रेकर्ड

84
Shares

काठमाडौं ।

सर्लाहीको तातो गर्मीमा छायांकन भइरहेको फिल्म रावायणका गीतको रेकर्डिङ भारतमा गरिएको छ। फिल्मको शीर्ष गीत, रोमान्टिक गीत र आइटम गीत भारतमा भारतीय गायकगायिकाकै स्वरमा रेकर्ड गरिएको हो।

शीर्ष गीत भारतीय गायक नकासा अजीजले गाएका छन्। नकासाले बलिउड फिल्म बजरंगी भाइजानको सेल्फी ले ले रे, फेन्टमको अफगान जलेबी, आर राजकुमारको सारीके फलसे, ट्युबलाइटको नाच मेरी जान, उचाइको केटी कोजस्ता हिट गीत गाएका छन्।

त्यस्तै, फिल्मको रोमान्टिक गीत कुनाल गान्जावालाले गाएका छन्। कुनालले बलिउड फिल्म मर्डरको भिघे ओठ तेरे, पार्टनरको दुपट्टा तेरा, सिसाको यारको मेने, कालको काल धमाल, धुमको सलामेजस्ता हिट गीत गाएका छन्।

त्यस्तै, आइटम गीत गायिका सोनु कक्कर गाएकी छन्। सोनुले बलिउड फिल्म दमको बाबुजी जरा धिरे चलो, ब्लुको ब्लु थिम, जिष्म २ को ए कसुर, क्विनको लन्डनजस्ता हिट गीत गाएकी छन्।

सबै गीतमा भारतीय संगीतकार रेवन सिंह र निरज सिंहको संगीत छ। संगीतकार रेवन भारतमा रुचाइएका संगीतकार, गायक, गीतकार, ब्याकग्राउन्ड स्कोरर र वाद्यवादक हुन्। लोकप्रिय भारतीय संगीतकार कैलाश खेरको स्टुडियोका संगीतकार, साउन्ड इन्जिनियर र मिक्सिङ इन्जिनियर निरज दुई दशकभन्दा लामो समयदेखि बलिउडमा संगीत क्षेत्रमा सक्रिय छन्।

फिल्मका निर्देशक सुदर्शन थापाले नेपालमा संगीत तयार पारेर भारतमा गई गीत रेकर्ड गर्ने गरिएकोमा आफूले सबै काम भारतमै गरेको बताए।

‘अहिलेसम्म नेपालमै संगीतको सबै काम सकेर भारतमा गई गीत रेकर्ड गराउने चलन थियो। तर, हामीले मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेर भारतीय गायकगायिकमार्फत गीत रेकर्ड गरेका हौ“। जसले गर्दा संगीतको गुणस्तर उत्कृष्ट हुन्छ,’ सुदर्शनको दाबी छ।

शिवम् अधिकारीको लेखन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन र सौरभ लामाको छायांकन रहेको फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकाललगायतले अभिनय गरिरहेका छन्।