जातीय पिडा र व्यथामा जाऊँ माया



काठमाडौं ।

प्रसाद, क्लासिक, नोभेम्बर रेन, प्रकाशजस्ता सफल र सार्थक फिल्मका निर्देशक दिनेश राउतद्वारा निर्देशित फिल्म पुजार सार्कीमा समावेश जाऊँ माया बोलको गीत सार्वजनिक गरिएको छ।

युट्युबबाट सार्वजनिक गरिएको गीतको भिडियो दृश्यमा पुजार बनेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीको प्रेम प्राप्तिका पीडा देखाइएको छ। मैतबहादुर बनेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बूको प्रेम प्राप्तिको सकस पनि गीतमा प्रस्तुत गरिएको छ।

गीतका दृश्यमा अन्तरजातीय प्रेमबाट उब्जिएका सामाजिक र पारिवारिक व्यवधान प्रस्ट पार्न खोजिएको छ। गीतले दुःखका भावना व्यक्त गरेको छ। जाऊँ माया गीतका शब्दले समाजले प्रेम अस्वीकार गरेपश्चात् नौ डाँडा काटेर जान प्रेमिकालाई आग्रह गरेको जनाउँछ।

तिर्खा लाग्दा एकै घुट्की पानी अमृत हुन्छ, जसले भोग्छ उसैलाई पीडा थाहा हुन्छ, देउता पनि मान्छे जस्तै बोली दिने भए, मेरै पीरले दुनियाँलाई पोली दिने भएजस्ता शब्दले जिन्दगीको वास्तविक भोगाइ र त्यसको पीडा सहजै बुझाउँछ। घाम पानीमा पोखिइदिने हुन्न रछ माया, सुन पानीले चोखिइदिने हुन्न रछ मायाजस्ता शब्दले जातीय छुवाछूतको मारमा परेका प्रेमीको भावना व्यक्त गरेको छ।

गीतमा बी.पाण्डेको शब्द रचना, केतन क्षेत्रीको स्वर र सुवास भुसालको संगीत रहेको छ। करिब दुई सय गीत रचना गरेका पाण्डेले भुसालकै संगीत र दिनेश राउतले नै निर्देशन गरेको फिल्म प्रसादमा बनकी चरी के भन्छे तथा फिल्म सेल्फी किङका लागि भुसालकै संगीतमा जाली रुमाल बोलको गीत रचना गरेका थिए। ती दुवै गीत सुपर हिट छन्।

आगामी जेठ १० गते नेपालस“गै नेपालीको बसोसबास रहेका विश्वका विभिन्न देशमा एक साथ रिलिज हुने फिल्ममा दर्शकको रोजाइका तीन सुपरस्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गरेका कारण फिल्म दर्शकको प्रतीक्षाको सूचीमा छ।

अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूलाई ग्रामीण परिवेशका युवतीको भूमिकामा प्रस्तुत गरिएको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराललगायत कलाकारले अभिनय गरेका छन्।

निर्देशक राउतले फिल्मलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने प्रयास रहेको जनाएका छन्। किङडम नेटवर्कको ब्यानरमा संगीतकार सुवास भुसालद्वारा निर्मित फिल्ममा विकास सुवेदीको लेखन, हिमाल केसीको द्वन्द्व निर्देशन, राजेश श्रेष्ठको छायांकन निर्देशन र भरत रेग्मीको सम्पादन रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्