सलमान ३० वर्ष कान्छी रश्मिकासँग रोमान्स गर्दै



एजेन्सी । बलिउड अभिनेता सलमान खानले अब आफूभन्दा ३० वर्ष कान्छी अभिनेत्रीका साथ रोमान्स गर्ने भएका छन्।

सलमानले यसै इदमा आफ्नो नयाँ फिल्म सिकन्दर निर्माण गर्ने घोषणा गरेका थिए। सो फिल्मको घोषणापछि अब सलमानले कसलाई हिरोइन लिन्छन् भन्ने आममानिसको कौतूहलता थियो। अब सो फिल्मका लागि सलमानकी हिरोइनको तय भएको छ।

फिल्मका निर्माताले इन्स्टाग्राममार्फत दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री रश्मिका मन्दनालाई फिल्मको अभिनेत्रीको रूपमा लिएको घोषणा गरेका छन्। यसभन्दा अघि रश्मिकाले फिल्म एनिमलमा काम गरेकी थिइन् जुन निकै सफल भएको थियो।

सन् २०२५ को इदमा प्रदर्शन हुने भनिएको फिल्ममा सलमान र रश्मिकाको जोडी हेर्न दर्शक उत्साहित देखिएका छन्। रश्मिकाले पनि फिल्मको घोषणाबारे प्रतिक्रिया दिँदै सिकन्दरको हिस्सा बन्न पाउँदा खुसी व्यक्त गरेकी छन्। फिल्ममा एआर मुरुगाडोसको निर्देशन र साजिद नाडियाडवालाको निर्माण रहनेछ।

रश्मिका उमेरले सलमानभन्दा ३० वर्ष कान्छी छिन्। ३० वर्ष कान्छी रश्मिका र त्यति नै वर्ष जेठा सलमानको जोडी सिकन्दरमा कस्तो देखिन्छ भन्ने कौतूहलता उनका फ्यानहरूमा पलाएको छ।

प्रतिक्रिया दिनुहोस्