एन्फा पदाधिकारीलाई विदेश जानबाट रोक्न निवेदन

1.22k
Shares

काठमाडौं ।

थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गर्न लागेका एन्फा पदाधिकारीहरुलाई रोक्न राष्ट्रिय खेलकुद परिषदमा निवेदन परेको छ ।

मंगलवार गोर्खा जिल्ला फुटबल संघका सदस्य अमित खत्रीले बैंकक प्रस्थान गर्न लागेका एन्फा पदाधिकारीहरुलाई रोक्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन दिएका हुन् । सन् २०२४ को मे १७ तारिखका दिन थाइल्याण्डको राजधानी बैंककमा ७४औं फिफा कंग्रेस हुन गईरहेको व्यहोरा अवगत गराउँदै त्यसतर्फ जान लागेका एन्फा पदाधिकारीलाई रोक्न उक्त निवेदन दिएका हुन । उक्त कार्यक्रममा  सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दिपक खतिवडा, केन्द्रीय सदस्य महेन्द्र क्षेत्री मंगलबार थाइ एयरको उडान नम्बर ३१० बाट राति १२ः१० बजे त्यसतर्फ प्रस्थान गर्न लागेको उक्त निवेदन पत्रमा उल्लेख गरिएको छ ।

खत्रीले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को (ञ) बमोजिम राखेपलाई जानकारी दिएर मात्रै अन्तर्राष्ट्रियस्तरमा हुने खेलकुद सम्बन्धी तालिम, सभा, गोष्ठी, सेमिनार वा सम्मेलनमा भाग लिन सदस्य वा खेलाडीलाई पठाउनु भन्ने व्यवस्था हुँदाहुँदै त्यसलाई वेवास्ता गर्दै राखेपसँग स्वीकृति समेत नलिई थाइल्यान्ड जान लागेकाले ती पदाधिकारीलाई रोक्न निवेदनमा भनिएको छ ।