हास्य कलाकार ध्रुवरत्न रहेनन्



काठमाडौं ।

जीवनभर हास्यव्यग्को माध्यमबाट सबैलाई हँसाउँदै आएका सिद्धहस्त हास्य कलाकार ध्रुवरत्न हाडाले सबैलाई रुवाउँदै बुधबार ७९ वर्षको उमेरमा अन्तिम श्वास लिएका छन्।

कलेजेको क्यान्सरका कारण लामो समय थलिएका उपचारको क्रममा उनको निधन भएको हो। आमा कृष्णकुमारी हाडा बुवा जगतरत्न हाडाको सन्तानको रूपमा २००२ साल पुस १ गते जन्मिएका हाडाले १० वर्षको उमेरदेखि नै हास्य कलाकारिताको सुरुवात गरेका थिए।

२०२४ सालमा प्रहरी सहायक निरीक्षकका रूपमा प्रहरी सेवामा प्रवेश गरेका हाडाले प्रहरी उपरीक्षकसम्म भई २०५६ सालमा अवकाश प्राप्त गरेका थिए।

कलाकारितालाई र्हेर्ने घरपरिवार र समाजकै साँघुरो दृष्टिकोणलाई चिर्दै हाडाले जागिरे जीवनमा पनि विभिन्न खालका हास्यव्यंग्य, नाटक र प्रहसनमा भाग लिई ख्याति कमाएका थिए। महजोडीभन्दा अघिल्लो पुस्ताका हास्य कलाकार हाडा र राजपाल थापा अर्थात् हाडापालको हास्य जोडी एक समय खुबै जमेको थियो।

प्रहसनका साथै लेखन तथा निर्देशनमा समेत सक्रिय हाडापालको जोडीले ज्युदा मुर्दा, कार्यालय निरीक्षण, म भए, पटके चार, दुई कविको मुठभेड, दुई स्वास्नीको पोइ कुना पसी रोइ, टुरिस्ट गाइड, रिसको बैंक, हकर्सको टक्कर, बम्पर उपहार, हस्पिटलको बेड, दुलहा बिक्री केन्द्रलगायत करिब डेढ सय प्रहसनमा अभिनय गरेको थियो।

तीन छोरी र श्रीमती रहेका हाडाको बिहीबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया दिनुहोस्