अग्रज पत्रकारहरुको कथा : ‘अग्र अनुहार’



‘सतहमा हेर्दा यो किताब अनेक पत्रकारको व्यक्तित्व–परिचय हो, पत्रकार महासंघको एक किसिमको इतिहास हो। तर, सारवस्तुलाई केलाउँदा नेपालको विविध राजनीतिक कालखण्ड, सामाजिक–सांस्कृतिक परिवेशमा नेपाली पत्रकारको यात्रा कसरी अघि बढ्दै आएको रहेछ भन्ने तथ्यको जीवन्त प्रमाण हो।’ प्रा. रामकृष्ण रेग्मीले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रकाशनमा ल्याएको ‘अग्र अनुहार’ कथा अग्रजको गाथा महासंघको नामक पुस्तकका बारेमा लेखेको एक अंश हो यो । २०१२ चैत १६ गतेलाई नेपाल पत्रकार महासंघले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । त्यसलाई आधार बनाउँदा महासंघ स्थापनाको ६८ वर्ष भएको छ ।

वितेका ६८ वर्षमा नेपाल पत्रकार संघ हुँदै अहिलेको नेपाल पत्रकार महासंघ हुँदासम्म २३ जनाले यसको नेतृत्व गरेका छन् । त्यसकै आधारमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पत्रकार महासंघको सुरु देखि अहिलेसम्मका अध्यक्षका बारेमा समेटेर पुस्तक तयार गरेको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीसहित १७ जना पत्रकारले उक्त पुस्तक तयार पारेका हुन् ।

रेग्मीले पुस्तक बारे लेखेका छन् प्रस्तोता सबै जीवनी लेख्ने शैलीमा त्यही कुरामा केन्द्रित भएको देखिन्छ । यसैले यो पुस्तकका पाना पानामा, तथ्यांक तथ्यांकमा र सन्दर्भ सन्दर्भमा पत्रकारिता अभ्यास गर्ने, पत्रकारिता पढ्ने र आमसञ्चार माध्यम प्रयोग गर्ने सबैका लागि उपयोगी संकेत तथा सामग्री फेला पर्छन् । उक्त पुस्तकमा नेपाल पत्रकार महासंघको एकसरो इतिहास जान्न सकिन्छ ।

अधिकारीकै सम्पादन रहेको उक्त पुस्तकमा कृष्णप्रसाद भट्टराई, फत्तेबहादुर सिंह,मनिन्द्रराज श्रेष्ठ, गोकर्णदेव पाण्डे,इन्दुकान्त शर्मा, मञ्जुरत्न शाक्य, निर्मलकुमार अर्याल र विष्णु निष्ठुरीसम्मका बारेमा उनैले लेखेका छन् । पत्रकार यम बिरहीले दाताराम शर्मा, चेतन पाण्डे र पोषनाथ अधिकारीले पशुपतिदेव पाण्डे, भाषा शर्माले गोपालदास श्रेष्ठ, शेखर अधिकारीले मणिराज उपाध्याय, विष्णु नेपालले गोविन्द वियोगी र रुक्मिणी पोखरेलले होमनाथ दाहाल र शिवहरि घिमिरले हरिहर विरहीका बारेमा लेखेका छन् ।

त्यस्तै, किशोर नेपालको केशव बोहोरा, सुरेश आचार्यको सुभाषप्रसाद साह, तारानाथ दाहालको शिवराज रेग्मी, धर्मेन्द्र झाको अशोक घिमिरे, शिव गाउँको अनिताकुमारी घिमिरे, महेन्द्र विष्टको नरेन्द्र मानन्धर, गोविन्द आचार्यको वीरेन्द्र ओलीले र वर्तमान अध्यक्ष बिपुल पोखरेलको देवेन्द्र बस्नेतले लेखेका छन् । पुस्तकमा भट्टराईलाई पत्रकारदेखि प्रधानमन्त्रीसम्म, दातारामलाई तीन युगका साक्षी, सिंहलाई पत्रकारिताका उज्याला व्यक्तित्व, पशुपतिदेवका बारेमा पत्रकारितादेखि प्रशासकसम्म, श्रेष्ठलाई उद्देश्यमूलक पत्रकारिताका हिमायती, गोपालदासलाई अंग्रेजी पत्रकारिताका आरम्भकर्ता, पाण्डेलाई पञ्चायतका प्रतिक्षको शीर्ष दिएर लेखिएको छ ।

त्यस्तै, शर्मालाई साहित्यिक पत्रकारिताका प्रवर्तक, शाक्यबारे छ दशकदेखिको उद्बोधन यात्रामा, अर्याललाई संघर्षशील प्राज्ञिक पत्रकार, उपाध्यायलाई स्वनामधन्य व्यक्तित्व, वियोगीलाई अविचलित साधक, होमनाथलाई प्रजातन्त्रको पैरवीकर्ता, विरहीलाई विद्रोहका पर्याय, नेपाललाई जुझारु कलमजीवी, सुरेशलाई दृढ निश्चयी नेतृत्व, दाहाललाई पेसागत मर्यादाका पक्षपाती, निष्ठुरीलाई स्वतन्त्रताका पक्षधर, झालाई शान्ति प्रक्रियाका साक्षी उल्लेख गरिएको छ । गाउँलेलाई शब्दका ज्यामी, विष्टलाई व्यावसायिकताका पक्षधर, आचार्यलाई संघीयताका सारथि र पोखरेललाई मोफसलका अगुवा शीर्षमा पुस्तकमा दिइएको छ ।

कुनै पनि व्यक्ति वा संगठनहरूले गरेको कामको मेमोरी(दस्तावेजिकरण) गर्ने प्रचलन नभएका बेला प्रदेश समितिले प्रकाशन गरेको पुस्तकले नेपालको पत्रकारिता र महासंघका बारेमा जान्न चाहनेका लागि एकसरो जानकारी प्राप्त हुन्छ । विभिन्न १७ जना व्यक्तिहरूले महासंघका पूर्व सभापति÷अध्यक्ष वा उनीहरूका परिवारका सदस्यसँग कुरा गरेर त्यसलाई तयार गरिएको छ । त्यसले उनीहरू बारेमा थप जान्नका लागि खोज्ने र पुग्ने बाटो पहिल्याइदिएको छ ।
पुस्तक प्रकाशनमा आएपछि जनजाति पत्रकारहरूको संगठन फोनिजले सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष मान्नु पर्ने माग उठाएको छ । त्यससँगै नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका बारेमा फेरि नयाँ विवाद सुरु भएको छ । सत्यनारायणबहादुरलाई संस्थापक अध्यक्ष मान्नु पर्ने दाबी गर्दै आएको फोनिजले पनि भट्टराई नेतृत्वमा गठन भएको नेपाल पत्रकार संघ त्यसकै निरन्तरता हो भन्ने तथ्य स्थापित गर्न सकेका छैन । महासंघको विधि, विधान र मान्यतालाई आधार बनाउँदै नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले पूर्व सभापति÷अध्यक्षको जीवनसहित विगत समेटिने गरी ‘अग्र अनुहार’ नाम दिएर पुस्तक बजारमा ल्याएको छ ।

प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले सम्पादन गरिएको उक्त पुस्तकमा उनीहरूको व्यक्तिगत जीवन मात्र होइन महासंघको नेतृत्व गर्नेहरूले आ–आफ्नै चुनौती र कठिनाइहरूको सामना गरेको कुरा पनि पुस्तकमा पाहिन्छ । महासंघ स्थापना यता पञ्चायतपूर्व, पञ्चायत, बहुदल, गणतन्त्र गरी चारैवटा राजनीतिक व्यवस्था र सामाजिक परिवेशमा पत्रकारको भूमिका केकस्ता थिए भन्ने जानकारी पनि पुस्तकमा पाउन सकिन्छ ।

पुस्तकका सम्पादक अधिकारीले ६८ वर्षको यात्रामा लेखेका छन् ‘यसले तत्कालीन राजनीतिक, आर्थिक र सामाजिक अवस्थाका साथै पत्रकारिताको अवस्थाको चित्रण गर्नेछ । पत्रकारिता अध्ययन तथा यस क्षेत्रका प्रवेश गर्ने तयारीमा रहेका वा रुचि राख्ने जोकसैका लागि पनि न्यूनतम जानकारी प्राप्त हुनेछ । यो अन्त्य होइन, आगामी दिनमा थप अध्ययन र खोजीका लागि सुरूआत मात्र हो । आगामी दिनमा महासंघले पत्रकार बैंक नै स्थापना गर्नुपर्छ । त्यसमा सबै पत्रकारको न्यूनतम जानकारी हुनुपर्छ । त्यो आजको लागि होइन भविष्यमा पत्रकार र पत्रकारिताको अध्ययन गर्न चाहनेका लागि महत्वपूर्ण योगदान हुनेछ ।’

उनले पुस्तकमा लेखे जस्तै नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले प्रकाशनमा ल्याएको यो पुस्तक आज पत्रकारिताका विद्यार्थी र नव प्रवेसीलाई मात्र उपयोगी हुनसक्छ । तर, भोलिका लागि नेपालको सिंगो पत्रकारिता र राजनीतिक क्षेत्रका लागि महत्वपूर्ण दस्तावेज हुनसक्छ । १९२ पृष्ठमा समेटिएको ‘अग्र अनुहार’ नामक पुस्तकको व्यक्तिगत ३७५ र संस्थागत ५५५ मूल्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्