एमालेले खनियाबासमा पहिलाेपटक बनायो महिला अध्यक्ष 



धादिङ। 

नेकपा एमाले खनियाबास गाउँपालिका कमिटीको अध्यक्षमा उर्गेनवती तामाङ निर्वाचित भएकी छन् । सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले तामाङको अध्यक्षतामा २३ सदस्यीय पालिका कमिटी चयन गरेको हो ।

खनियाबास गाउँपालिका कमिटीको अध्यक्षमा चयन भएकी तामाङ धादिङ जिल्लाकै इतिहासमा पालिकाको नेतृत्वमा आउने दोस्रो महिला हुन् । यसअघि पालिका कमिटी, जिल्ला कमिटी र २०७४ सालको स्थानीय निर्वाचनपछि जिल्ला समन्वय समितिको सदस्य समेत रहेकी तामाङ खनियाबास गाउँपालिका–४ की निवासी हुन् ।

कमिटीको उपाध्यक्षमा रविन कुमार तामाङ, सचिवमा राम प्रसाद तामाङ, उपसचिवमा रुसि तामाङ चयन भएका छन् ।

नेकपा एमाले धादिङले अभियान स्वरुव पालिकाहरुको अधिवेशन गरिरहेको छ । यही अभियान अन्तर्गत नेकपा एमाले धादिङका इन्चार्ज धर्मदक्त देवकोटा, अध्यक्ष भूमि त्रिपाठी, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली), सचिव राधिका सापकोटासहित जिल्ला कमिटीका पदाधिकारी र नेताहरु गाउँ गाउँ पुगिरहेका छन् । जिल्लाका १३ पालिका मध्ये आठ वटा पालिकाको अधिवेशन सकिसकेको छ ।

अधिवेशनको नेकपा एमाले केन्द्रीय लेखा आयोग अध्यक्ष डा पुष्प कँडेलले उद्घाटन गर्दै विकासका कार्यक्रम र नीति ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्