महाजात्राले मनायो ५१औं दिन



काठमाडौं ।

सुपरहिट फिल्म जात्रा र जात्रैजात्रापछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो संस्करणको फिल्म महाजात्राले प्रदर्शनको आठौँ सातामा प्रवेश गर्दै ५१औँ दिन मनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको महाजात्राले शनिबार काठमाडौं उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, बिग मुभिज, सिनेडी सेफ र उपत्यकाबाहिर नेपालगञ्जमा रहेको सिने रोयलमा प्रदर्शनको ५१ औं दिन पूरा गरेको हो।

यस अवसरमा फिल्म निर्माण समूहले शनिबार राजधानीमा एक कार्यक्रम आयोजना गरी ५१ औं दिनको खुसीलयाली साटेको छ। गत २०८० चैत ९ गते सार्वजनिक प्रदर्शन गरिएको महाजात्राले अहिलेको समयमा समेत ५१ औं दिनको यात्रा तय गर्नु सुखद खबर रहेको अभिनेता हरिवंश आचार्यले बताए।

षट्कोण आर्ट्सद्वारा ५१औँ दिनको अवसरमा आयोजित विशेष समारोहमा अभिनेता आचार्यले नेपाली फिल्मलाई दर्शकबाट प्राप्त मायाका लागि आभार व्यक्त गरे।

‘यो शृङ्खलाका अघिल्ला फिल्मझैँ यसपटक पनि काठमाडौंका १२ र मोफसलमा एक गरी १३ हलमा ५१औँ दिनको यात्रा पार गरेको छ। दर्शकले नै फिल्म राम्रो छ भनेपछि प्राप्त प्रतिक्रियाले सफलता पाएका छौँ। दर्शकलाई जति धन्यवाद दिए पनि कम हुन्छ,’ कार्यक्रममा अभिनेता आचार्यले भने, ‘अहिले नेपाली फिल्मलाई दर्शकले साथ दिइरहेका छन्। प्रदर्शन भएका फिल्मले घरेलु बजार र विदेशी बजारमा राम्रो व्यापार गरिरहेका छन्। यो वर्ष नेपाली फिल्मका लागि सुखद हुने देखिएको छ।’

निर्माता म्याक्स दीपेश खत्रीले नेपालमा फिल्मले १६ करोड आठ लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको जानकारी दिएका छन्। उनले यसले अन्तर्राष्ट्रियबजार बलियो बनाउनुका साथै फिल्मको माध्यमबाट नेपाली कला, संस्कृति र भाषाको प्रवद्र्धनमा सहयोगी भूमिका निर्वाह गर्न पाउँदा सम्पूर्ण टिम हर्षित भएको बताए।

अन्तर्राष्ट्रिय वितरक कम्पनी एमएसएम इन्टरटेन्मेन्टले महाजात्राले डायस्पोरामा फिल्मको खडेरी हटाउन सफल भएको जनाएको छ। कम्पनीका अनुसार सिड्नीमा ३५ भन्दा बढी शो भइसकेका छन्। यो अहिलेसम्मको सिड्नीमा नेपाली फिल्मको सर्वाधिक शो हो।

यसका साथै फिल्मले घोषणा गरेको महाजात्राको महाजोडी फोटो प्रतियोगिताको विजेता प्रविनजंग थापा र प्रकाश के बुढाले एक/एक थान मोबाइल प्राप्त गरेका छन्।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरेका छन्।। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन्।

प्रतिक्रिया दिनुहोस्