पोखरामा कवितामाथि नाटक



काठमाडौं ।

एक दशकदेखि नाटक मञ्चन गरिरहेको पोखरा थिएटरले पोखरामा नाटक मजदुर मार्ग मञ्चन गरेको छ। नाटकले विभिन्न किसिमका मजदुरको सजीव चित्रण गरेको छ।

देश पञ्चायतदेखि गणतन्त्रको अवस्थामा आइपुग्दा पनि मजदुरको ब्यथा उस्तै छ भन्ने सन्दर्भलाई नाटकले सशक्त ढंगले उतारेको छ। नाटकले मजदुरको मार्ग कठिन छ भन्ने मूल भाव बोकेको छ। दासप्रथा, हलियाप्रथा, बाल मजदुर, वैदेशिक मजदुरलगायतको दुखद अवस्थालाई नाटकले मार्मिक रूपमा प्रस्तुत गरेको छ।

कुनै भूगोल स्थान नभनिए पनि दृश्यले कथा कुनै एक तामाङ एवं सीमान्तकृत गाउँको संकेत गर्छ। रातो माटोको डाँडामा घर, बौद्धधर्मको लुङ्दार र झण्डा, खोला, पहाडको बाटो इत्यादिले दर्शकलाई काठमाडौं आसपासको तामाङ बस्तीमा पुर्‍याउँछ। ठुलेको आपाको महेन्द्र राजमार्ग बनाउँदा बनाउँदै निधन भएपछि उसले भोग्नुपरेको कठिन मार्गलाई नाटकमा उतारिएको छ।

राज स्याङ्तानको कबिता संग्रह ओ पेंङदोर्जेमा आधारित नाटकको परिकल्पना र निर्देशन नारायण न्यौपानेले गरेका छन्। नाटकमा धनकाजी श्रेष्ठ, सुसन पौडेल, सनिता थापा, कुमार तामाङ, रोशनी रामदाम, रमेश तिमल्सिना, राजकुमारी गहतराज, रोहित पौडेल, आकास परियार, समीक्षा पौडेल र परिवर्तनले अभिनय गरेका छन्।

नाटकमा चार यस्ता अवस्था आउँछन्, जहाँ पात्रको प्रतिरुप पनि कुमार तामाङ, समीक्षा पौडेल र नारायण न्यौपानेले राजु स्याङ्तानको शक्तिशाली कविता वाचन गर्छन्। पोखरा थिएटरका कार्यकारी निर्देशक परिवर्तनका अनुसार कवितालाई नाटकका रूपमा मञ्चन गर्ने अभ्यास यो तेस्रो हो। यसअघि उपेन्द्र सुब्बाको खोलाको गीत मन्चन गरिएको थियो। नाटक हिजो शनिबारसम्म मञ्चन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्