नेपालमै छनौट खेल गराउन प्रयास



काठमाडौं ।

एसियाली फुटबल काउन्सिल (एएफसी) ले दशरथ रंगशालामा नेपाल र यूएईबीच हुने विश्वकप छनौट खेल हुन नसक्ने बताएपछि खेल नेपालमै गराउन प्रयास भइरहेको छ।

शुक्रबार मात्रै पनि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात उपलब्ध गरायो । यसमा एएफसीले माग गरेको विवरण समेटिएको छ।

उक्त छनोट खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहित चार बुँदे विवरण एएफसीले एन्फासँग माग गरेको थियो । जसमा, स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दि स्टेडियमका विषय रहेका छन्।

सो विषयमा एन्फाले राखेपसँग एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो। फिफा विश्वकप र एएफसी एसिया कप छनोटअन्तर्गत नेपालले युएईविरुद्ध जेठ २४ गते दशरथ रंगशालामा खेल्ने तालिका रहेको छ।

यसअघि चैत ८ गते नेपालमा हुनु पर्ने यसै छनौटअन्तर्गत बहराइनविरुद्धको खेल हुन सकेन। यो खेल खेलाउन पनि दशरथ रंगशाला उपयुक्त नभएको एएफसीले जनाएको थियो। यसको सट्टा भुटानमा खेलाउन एन्फाले आग्रह गरेपनि एएफसीले मानेन।

यो खेल पछि सोही मितिमा बहराइनमा खेल्नु परेको थियो। अहिले पनि यदि एएफसीले अस्विकार गरिदियो भने यूएईविरुद्धको खेल बाहिर नै खेल्नु पर्ने हुन्छ। साथै नेपालको लागि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल खेलाउन वातावरण पनि नमिल्ने संभावना पनि बढेको छ।

प्रतिक्रिया दिनुहोस्