कबड्डीमा दुबैतर्फ सुर्खेतलाई उपाधि



मुगु ।

कर्णाली प्रदेशस्तरीय रारा कप खुला महिला तथा पुरुष कबड्डी प्रतियोगिताको उपाधि सृुर्खेतले जितेको छ। सुर्खेतले महिला र पुरुष दुबैतर्फ पहिलो स्थान हासिल गरेको हो।

पर्यटकीय स्थल रारातालमा पहिलो पटक आयोजना गरिएको फाइनल खेलमा पुरुषतर्फ दैलेख र महिलातर्फ सल्यानलाई हराएको हो। उक्त पुरुषतर्फको फाइनलमा सुर्खेतले ४७ अंक प्राप्त गर्दा दैलेखले २९ अंक मात्र जोड्न सकेको थियो। तर, महिलातर्फ भने सुर्खेतले २ अंकको झिनो अग्रतामा उपाधि जित्यो। सुर्खेतले २९ अंक प्राप्त गर्दा सल्यानले २७ अंक जोडेको थियो।

नकआउट विधिबाट खेलाइएको खेलमा पुरुषतर्फ जाजरकोट र सल्यान तेस्रो स्थानमा रहे। महिलातर्फ जाजरकोट र कालिकोट तेस्रो भएका थिए। उक्त प्रतियोगितामा पुरुषतर्फ हुम्लाबाहेक कर्णाली प्रदेशका ९ जिल्लाको सहभागिता रहेको थियो। महिलातर्फ डोल्पा, हुम्ला र रुकुम पश्चिमबाहेक अन्य ७ जिल्लाको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्