प्रिन्सले पेरिस ओलम्पिक खेल्ने

210
Shares

काठमाडौं ।

ब्याडमिन्टनतर्फ नेपालका नम्बर १ खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन्। विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्तिअनुसार प्रिन्स युनिभर्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो। योसँगैं प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भए।

ब्याडमिन्टनमा यसपटक १ सय ६६ नियमित कोटा (८३ पुरुष र ८३ महिला), ३ युनिभार्सलिटी कोटा र एक ओलम्पिक शरणार्थी कोटामार्फत खेलाडी प्रतिस्पर्धा गर्दैछन्। यस्तै आयोजक कोटामा फ्रान्सका खेलाडी वरीयताबाट योग्य हुँदा त्यसमा अर्का योग्य खेलाडीले खेल्नेछन्।

युनिभर्सलिटी स्थान ओलम्पिकमा कमजोर उपस्थिति जनाउने राष्ट्रका खेलाडीलाई ओलम्पिकमा प्रतिस्पर्धा गर्ने अवसर दिन निर्धारण गरिएको कोटा हो। विश्वभरबाट ब्याडमिन्टनमा ३ खेलाडी पाएको कोटामा प्रिन्स आफ्नो पुरानो प्रदर्शनको आधारमा छनोट भएका हुन्। प्रिन्ससँगै ब्याडमिन्टनको यस कोटामा पुरुषतर्फ सुरिनामका सोरेन ओप्ति र महिलातर्फ माल्दिभ्सकी अब्दुल रजाक फथिमाथले खेल्नेछन्।

नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले विश्व ब्याडमिन्टन महासंघबाट प्रिन्सले ओलम्पियन खेल्न पाउने जानकारी प्राप्त भएको पक्का गरे।

‘यसमा नेपाल ओलम्पिक कमिटी (एनओसी) को पनि सहमति आवश्यक हुन्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रक्रिया अघि बढिसकेको छ। सोमबार सम्ममा सबै प्रक्रिया पूरा गरेर प्रिन्सले ओलम्पिक खेल्ने पक्का हुनेछ। यो नेपाली ब्याडमिन्टका लागि ठूलो उपलब्धि हो।’

पछिल्लो समय नेपाली ब्याडमिन्टनमा एकपछि अर्को उपाधि जित्दै आएका प्रिन्सले लामो समयदेखि ओलम्पिक लक्षित तयारी थालेका थिए।