एरिकालाई १९ लाख ५० हजार नगद पुरस्कार

294
Shares

काठमाडौं ।

मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले २ करोड ९७ लाख १० हजार नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले युवा तथा खेलकुद मन्त्रालयमार्फत पेश गरेको प्रस्तावलाई मन्त्रीपरिषद्ले अनुमोदन गरेसँगै एसियाली खेलकुदमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली पुरुष राष्ट्रिय टोलीले पनि नगद पुरस्कार पाउने भएका हुन् ।

मन्त्रीपरिषदले निर्णय गरेपछि १९ औं एसियाली खेलकुद र चौथो एसियाली पारा खेलकुदका पदक विजेता खेलाडी तथा प्रशिक्षकका साथै नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले नगद पुरस्कार पाउने भएका हुन् ।

गत वर्ष चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले सबैभन्दा बढी रकम पाउने भएकी छन् । उनले १९ लाख ५० हजार प्राप्त गर्ने छिन्।

त्यस्तै सोही एसियाली खेलकुदमा एरिकालाई पदक दिलाएकी कराते प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवासगोपाल वैद्यले जनही १ लाख ९५ हजार प्राप्त गर्ने छन् ।

उक्त एसियाली खेलकुदमा नै कबड्डीमा कांस्य पदक जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले कूल ४८ लाख १० हजार नगद पुरस्कार प्राप्त गर्नेछ । जसअनुसार टोलीका १२ खेलाडीले जनही ३ लाख ९० हजार नगद प्राप्त गर्नेछिन् । त्यस्तै प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार नगद प्राप्त गर्नेछन् ।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन् ।

क्रिकेट खेलाडी प्रत्येकले १३ लाख पाउने

यसैगरी आईसीसी पुरुष टी २० विश्वकपअन्तर्गत एसियाको छनौट फाइनलमा दोस्रो भएको नेपाली क्रिकेट टोलीले कुल २ करोड ४ लाख ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । जसमा १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टोली व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार नगद हासिल गर्नेछन् ।