सुहाङ नेम्वाङले आज सांसदको सपथ लिँदै

470
Shares

काठमाडौं ।

उपनिर्वाचनमार्फत इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुहाङ नेम्वाङले आज  सपथ ग्रहण गर्दै छन्।

सभामुख देवराज घिमिरेले आज बिहान ११ बजे नेम्वाङलाई शपथ गराउने कार्यक्रम तय भएको संसद् सचिवालयले जनाएको छ। यस क्रममा सभामुख घिमिरेले नेम्वाङलाई प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन्।

शपथ ग्रहणको कार्यक्रम कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहल सिंहदरबारमा राखिएको छ। नेम्वाङ यही वैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा इलाम २ बाट २७ हजार ७ सय ७२ मत पाएर विजयी भएका थिए।

सुहाङ नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका छोरा हुन्। इलाम २ बाट निर्वाचित सुवासको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।