खत्याड गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ अजबहादुर शाही । यहाँ २०७९ असोज २२ गते भारि वर्षासँगै आएको बाढी–पहिरोले करिब ५ हजार घर–परिवार प्रभावित भएका थिए । उनीहरूको अहिलेसम्म पनि उचित व्यवस्थापन भएको छैन । प्रस्तुत छ, शाहीसँग जिल्ला संवाददाता वीरबहादुर बमले समसामयिक विषयमा गरेका कुराकानीको सम्पादित अंश:
गुनासो सुनुवाइ नभएको र विकास निर्माणमा खत्याड पछि परेको भन्ने पालिकाका नागरिकको गुनासो छ । खास कुरा के हो ?
गत वर्षको प्राथमिकतामा परेका योजनालाई जनतासामु काम गर्छु भनेर भनेको थिएँ । तर, केन्द्र र प्रदेशबाट बजेट घटेर आएपछि सबैको माग, योजनाका काम पूरा हुन सकेनन् । जसले गर्दा, नागरिकको समस्या सम्बोधन हुन सकेका छैनन् । सर्वसाधारण त्यसप्रति असन्तुष्ट हुन सक्छन् । खत्याड गाउँपालिकादेखि सदरमुकामसम्म मोटरबाटो जोडिएको छैन । यहाँ धेरै समस्या छन् । नागरिकलाई दुःख दिने मनशाय हाम्रो होइन । स्थानीय निकायमा बजेट कम भएर समस्या समाधान गर्न मुस्किल भएको हो ।
पालिकालाई नमुनायोग्य बनाउन कुनै कार्यक्रम ल्याउनुभएको छ ?
शिक्षा र स्वास्थ्यमा गुणस्तरीयता ल्याउन औषधि र जनशक्तिको व्यवस्थापन गरिएको छ । अग्र्यानिक खाद्यवस्तु उत्पादनमा टेवा पुग्ने गरी अग्र्यानिक गाउँपालिका घोषणा गर्ने कार्यमा जुटेका छौं । जस अनुसार वडा नम्बर १ लाई सिमी जोन २ र ७ नम्बर वडालाई धान जोन, ३ नम्बर वडालाई स्याउ जोन, ४ नम्बर वडालाई स्याउ खेती, ५ नम्बर वडालाई आलु, ६ नम्बर वडालाई कोदो र टिमुर, ८ नम्बर वडालाई प्याज खेती, ९ नम्बर वडालाई मकैखेती, १० नम्बर वडालाई केरा, ११ नम्बर वडालाई कागती खेतिका लागि पकेट जोन क्षेत्र छुट्याएका छौं । कृषकले उत्पादन गरेका अग्र्यानिक अन्नलाई सहुलियत दरका सम्भावित क्षेत्रमा ढुवानी गर्न कृषि एम्बुलेन्सका साथै स्थानीय हाटबजारको समेत व्यवस्था गरिने छ ।
जनप्रतिनिधि विकास निर्माण, सेवा–प्रवाह र सुशासन स्थापित गराउन कत्तिको संवेदनशील भएको पाउनुभएको छ ?
विकास निर्माण, सेवा प्रवाह र सुशासन स्थापित गराउन जनप्रतिनिधि लागिपरिरहेको पाएको छु । विकास निर्माणकार्य देखि भ्रष्टाचारको अन्त्य, हरेक काममा पारदर्शिता कायम भएका छन् ।
जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध कस्तो हुनुपर्छ ?
कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध राम्रो हुनुपर्छ । सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकासँग समन्वय नै नगरी कर्मचारी फेरबदल, प्रमुख प्रशासकीय अधिकृतमाथिको तजबिजले गर्दा कर्मचारी प्रशासनमा केही समस्या देखिएको भए पनि अहिले त्यस्तो अवस्था छैन ।
विकास निर्माणमा जनसहभागिता कस्तो पाउनुभएको छ ?
कूल योजनाको २० प्रतिशत श्रमदान समुदायले गरेका छन् । गत वर्षको बाढी–पहिरो क्षेत्रका बस्तीमा खानेपानी, सिँचाइ, बाटोलगायतका पूर्वाधार प्रदेश र संघबाट बजेट नपठाउँदा गाउँपालिकाको बजेटले धान्न सकेको छैन । थोरै बजेट भएकाले कनिका छरे जस्तै भएको छ ।
प्राकृतिक विपत्तिमा परेका नागरिकलाई सम्बोधन गर्नुभएको छ कि छैन ?
बाढी–पहिरो प्रभावित नागरिकलाई गाउँपालिकाकाले विशेष समिति बनाएर खत्याडलाई विशेष संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । तर, केन्द्रबाट पीडितका लागि भनेर कुनै रकम आएको छैन । विकासका लागि छुट्याएको रकम (४ करोड) ले गाउँपालिकाले तत्कालका लागि उद्धार र राहतको कामसम्म ग¥यो । गाउँसभाद्वारा अनुमोदित विकास बजेटसमेत ४० प्रतिशतले संघबाट घटेर आएको छ । बजेट घटेर आएपछि भुक्तानी दिन नसक्दा बेरुजु पनि बढेको छ ।
वडा नम्बर १ लाई सिमी जोन २ र ७ नम्बर वडालाई धान जोन, ३ नम्बर वडालाई स्याउ जोन, ४ नम्बर वडालाई स्याउ खेती, ५ नम्बर वडालाई आलु, ६ नम्बर वडालाई कोदो र टिमुर, ८ नम्बर वडालाई प्याज खेती, ९ नम्बर वडालाई मकैखेती, १० नम्बर वडालाई केरा, ११ नम्बर वडालाई कागती खेतिका लागि पकेट जोन क्षेत्र छुट्याएका छौं । मुख्यतः खत्याडलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएपछि यस क्षेत्रमा भत्किएका संरचना पुनर्निर्माण गर्न संघ तथा प्रदेश सरकारलाई आग्रह गरें । तर, कसैले सुनेनन् । वर्षौंदेखि बजेटको अभावमा बिराबगर जलविद्युत्, रारा–खत्याड जोड्ने पर्यटन पदमार्गका लागि पनि बजेट मागेको छु । सुनुवाइ भएको छैन ।
प्रदेश र केन्द्रीय सरकारसँग अन्तरसम्बन्ध कस्तो छ ?
समबन्ध राम्रो बनाउनकै लागि पालिकाबाट आफैँ बेला–बेलामा संघीय र प्रदेश सरकारकहाँ पुग्ने गरेको छु । दुई महिना त यसै सिलसिलामा जिल्ला बाहिर रहें । मुख्यतः खत्याडलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएपछि यस क्षेत्रमा भत्किएका संरचना पुनर्निर्माण गर्न संघ तथा प्रदेश सरकारलाई आग्रह गरें । तर, कसैले सुनेनन् । वर्षौंदेखि बजेटको अभावमा बिराबगर जलविद्युत्, रारा–खत्याड जोड्ने पर्यटन पदमार्गका लागि पनि बजेट मागेको छु । सुनुवाइ भएको छैन ।
खत्याडलाई देशभर चिनिने बनाउन कुनै योजना बनाउनुभएको छ ?
अग्र्यानिक अन्नबाली उत्पादन गरेर पालकालाई चिनाउने छौं । यसका लागि ‘एक वडा, एक उत्पादन’ कार्यक्रमलाई प्राथमिकता दिएका छौं । कृषि, फलफूल र तरकारीका लागि बाह्य बजार खोजेका छौं । आयातलाई रोकेर निर्यातमा जोड दिने गरी कार्यक्रम र बजेट विनियोजन गर्न लागेका छौं ।
स्थानीय तहको आयस्रोत वृद्वि गर्न के गरिरहनुभएको छ ?
आउँदो ६ मिहनाभित्र खत्याडका ११ वटै वटालाई बिजुली वितरण गर्ने छौं । स्थानीय जडीबुटी र कृषि उद्योग विस्तारमा जोड दिइएको छ । खत्याडलाई कृषि हबका रूपमा विकास गरिरहेका छौं । स्थानीय कृषि उत्पादनमा वृद्धि गरी सर्वसाधारणको आयमा वृद्वि गर्न लागिपरेका छौं । यसले पालिकाको राजस्वमा समेत वृद्धि हुनेछ ।
अन्त्यमा, विशेष केही भन्नु छ कि ?
दुर्गमको त्यसमा पनि बाढी–पहिरो प्रभावित क्षेत्र खत्याडलाई संकटग्रस्त क्षेत्र भनेर नारामा मात्र सीमित गरिएको छ । यसले खत्याडी जनतालाई ‘आकाशको फल आँखा तरी मर’ भने जस्तो भएको छ । संघ र प्रदेश सरकारले यो अवस्थालाई बुझेर आउने बजेटमा व्यवस्था गरिदिनुप¥यो ।
प्रतिक्रिया