पत्रकारको सुरक्षामा ध्यान दिन इञ्जाको आग्रह



काठमाडौं ।

नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इञ्जाले पत्रकारको भौतिक र आर्थिक सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा अवसरमा शुभकामना सन्देश जारी गर्दै इञ्जाले नेपाल लगायत संसारका विभिन्न भागमा पत्रकारिताको कर्म गर्दा गर्दै मारिएका संचारकर्मीहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते पत्रकारहरूको उपचार र जीविकोपार्जनमा ध्यान दिन सम्बन्धित निकायहरूलाई अनुरोध गरेको हो।

“ब्रह्माण्डकै लागि प्रेस: वातावरणीय चुनौतीहरूको सङ्घारमा पत्रकारिता” भन्ने नाराको साथमा युनेस्कोको आह्वानमा संसारले पर्यावरणीय चासोलाई प्राथमिकतामा राखेर प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा नेपाल भने आन्तरिक प्रेस स्वतन्त्रताको प्रत्याभूतिकै लागि सधैँ अल्झिरहनु परेको इञ्जाले जनाएकाे छ।

”नेपालले प्रेस स्वतन्त्रता र मानव अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घका विभिन्न चार्टरहरूमा हस्ताक्षर गरेको छ। र मानव अधिकार, प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता लगायतका विश्वव्यापी मान्यताहरूमा  प्रतिबद्ध छ। साथै नेपालको वर्तमान संविधानले पनि यी कुराहरूलाई अक्षरशः प्रत्याभूत गरेको छ। यस अर्थमा हामी देशका कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका लगायत सरकार र निजी क्षेत्रका सबै वर्ग र तप्कालाई देशको चौथो अङ्गको रूपमा रहेको प्रेस जगतलाई स्थान, सम्मान र सहकार्य गर्दै अगाडि बढ्न अनुरोध र अपिल गर्दछौँ। प्रेस विकासको साझेदार हो, देशको तेस्रो आँखा हो र चौथो अङ्ग पनि हो।”  इञ्जाको शुभकामना सन्देशमा भनिएको छ।

चौथो अङ्गलाई बाहिर पारेर देशको समग्र समुन्नति र जनताको सूचनाको अधिकार हासिल गर्न सम्भव नभएको इञ्जाले प्रस्ट पारेको छ।  प्रेससँग सहकार्य गर्नको लागि इञ्जाले सबैमा अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्