एन्फामा विदेश भ्रमणको मोह

84
Shares

काठमाडौं ।

नेपाली फुटबल जे सुकै होस् तर, अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरूको विदेश भ्रमणको मोह भने कम भएको छैन। यहाँ बी डिभिजन लिग भएको छैन, ए डिभिजन लिग कहिले गर्ने भन्ने भइरहँदा एन्फाका पदाधिकारीहरू विदेश जानेमै तँछाडमछाड गरिरहेका छन् ।

भर्खरै मात्रै नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न बेलायत पुगेको छ । त्यहाँ टोलीले दुई मैत्री खेल खेल्न भने पनि समयमा खेलाडी पुग्न नसक्दा अब एउटै मात्रै मैत्री खेल हुने भएको छ। नेपाली टोलीले इंग्ल्यान्डको सी टोलीसँग मे ६ यानि यही बैशाख २५ गते खेल्नेछ।

यही नेपाली टोलीमा २३ सदस्यीय छन् भने बाँकी ७ पदाधिकारी गरी जम्मा ३० सदस्यीय टोली बेलायतमा पुगेको हो । अर्का ५ जना भीआईपीमा एन्फाका अध्यक्षसहित रहेका छन् । पहिले उनीहरूलाई पनि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्विकृत नदिएकोमा पछि दिइएको स्रोतले जनाएको छ ।

तर, बाँकी १५ जना पदाधिकारीहरू भने बेलायत पुग्न सकेका छै्रनन् । बिहीबार केही पदाधिकारी त्रिभुवन विमानस्थलमा पुगेको र त्यहाँको अध्यागमन विभागले उनीहरूलाई फर्काएको पनि सुत्रले जनाएको छ। तर, ती १५ जनामध्ये एक पदाधिकारी एन्फाका प्रवक्ता सुरेश साहले भने यस्तो कुनै कुरा नभएको बताउनु भयो।

साहले बताउनुभयो —यस्ता कुरा केही पनि होइन । खािल भिसा नआएकोले जान नपाएको हो । तर, भिसाको लागि प्रक्रिया चलिरहेको छ । भिसा आएमा बेलायत जानेछ।

यस विषयमा युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले राखेपका सदस्य सचिव टंकलाल घिसिङ र एन्फाका महासचिव किरण राईसँग अघिल्लो दिन छलफल गर्नुभएको थियो। एन्फा महासचिव किरण राईले रातिसम्म भीसा आउन सक्ने पनि बताउनुभएको थियो । भिसा लिन कै लागि भारतको दिल्लीमा पठाएको पनि महासचिव राईले मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए ।

एन्फाले मैत्रीपूर्ण खेलको लागि खेलाडी र पदाधिकारी गरी कूल ३० जनाको नाम परिषद्मा पठाएको थियो । राखेपका सदस्यसचिवको अनुसार ३० जनाको लागि स्वीकृत गरिएको तर, यसबाहेक ५ जना एन्फा भीआईपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतीको लागि राखेपमा कुनै पत्र आएको छैन ।

यस विषयमा एन्फा महासचिव राईले खेलाडी र टोलीको मात्र स्वीकृति लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृति नलिएको जिकिर गर्नुभयो । राईले बताउनुभयो — बाँकी २० जना आफ्नै खर्चमा जाने भएकाले एन्फाले बेलायती राजदुतावासमा भिसाको लागि सिफारिस गरेको हो ।

ऐनमा के छ ?

राष्ट्रिय खेलकुद ऐन २०७७ अनुसार जुनसुकै खेलका खेलाडी पदाधिकारी सबैले स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ। सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राखेपबाट स्वीकृति लिनुपर्ने मन्त्री श्रेष्ठले उल्लेख गर्नुभएको थियो।

उहाँका अनुसार स्वीकृति नलिएसम्म हालका लागि १५ पदाधिकारीहरू बेलायत जान पाउने छैनन्। युवा तथा खेलकुद मन्त्रालयले राखेपको स्वीकृति बिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको जनायो ।

यस्तो भएको दोस्रो पटक

राखेप, खेल मन्त्री र एन्फाबीच यस्तै खिचिलो भएको यो दोस्रो पटक हो। गत चैत ८ गते र १३ गते बहराइनमा भएको विश्वकप छनौट खेलको विषयमा यस्तो भएको थियो।

त्यतिबेला पनि केही पदाधिकारीहरू राखेपको सिफारिस विना बहराइन गएका थिए। पछि मन्त्री श्रेष्ठले उनीहरूलाई रोक्न राखेपलाई निर्देशन दिनुभयो। तर, राखेपले रोक्न अघि नै पदाधिकारीहरू बहराइन पुगिसकेका थिए। त्यसबेला पनि आफ्नै खर्चमा गएको बताइएको थियो।