प्रिमियरमै मन पराइएको मनसरा आजदेखि देशभर



काठमाडौं

गतवर्ष नेपाली फिल्म क्षेत्रमै सर्वाधिक कमाई गर्ने फिल्म जारीका डेब्यु निर्देशक उपेन्द्र सुब्बाद्वारा निर्देशित मनसरा प्रिमियरमै मन पराइएको छ।

बुधबार ललितपुरको लबिङ मलस्थित क्युएफएक्समा आयोजित प्रिमियरमा फिल्म हेर्नेहरूले मनसराको खुलेर तारिफ गरेका छन्। प्रिमियरमा फिल्म हेर्नेहरूले यसको कथा वाचन र प्रस्तुति उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन्।

निर्देशक सुब्बाले नै लेखेको फिल्मले एकल महिला र निसन्तान पुरुषबीचको कथा भन्छ। फिल्ममा निःसन्तान दम्पतीको पीडा, हराएका पात्रको रोचक पुनर्मिलन, अन्तरजातीय सम्बन्धको आयामको कथा बुनिएको छ।

विशेषगरी अभिनेता प्रवीण खतिवडा र अभिनेत्री मिरुना मगरको वरिपरि घुमेको फिल्ममा अभिनेता दयाहाङ राई सशक्त भूमिकामा देखिएका छन् भने गायक सत्यराज आचार्य र कवि विप्लव प्रतीक विशेष भूमिकामा देखिएका छन्।

कबड्डी फिल्म्स्को ब्यानरमा कुशल छाया“कार शैलेन्द्रध्वज कार्कीद्वारा निर्मित फिल्म आज शुक्रबाबाट अल नेपाल रिलिज हुँदैछ। विष्णुकुमार लिम्बू मनोरथ पोखरेल, परशु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बू थाक्लुङ सहनिर्माता रहेको फिल्मको प्रिमियर शोमा फिल्मका प्राविधिकलाई जनही ५० हजारसहित सम्मान गरिएको थियो।

फिल्म लेखनबाट निर्देशन फा“टमा उत्रिएका निर्देशक उपेन्द्र सुब्बाले दर्शकसँग बहानाबाजी गर्ने वा माफी माग्ने छुट आफूलाई नभएको बताएका छन्। अभिनेता दयाहाङ राईले मनसरामा आफूले निर्वाह गरेको पात्रबाट आफैं लोभिएको बताए।

‘मनसरामा मैले निर्वाह गरेको पात्रमा मैले काम नगरेर हेर्न पाए हुन्थ्योजस्तो लाग्यो। यो मेरा लागि नै डाह लाग्ने क्यारेक्टर हो। जारीमा लिम्बुवान, लिम्बू संस्कृति र दर्शनको युनिभर्स थियो। मनसरा त्यही युनिभर्सकै एक पात्र हो। जारीको नामसाङ र मनसराको एक्टरको मनोविज्ञान फरक छ,’ दयाहाङले प्रस्ट्याए। अभिनेत्री मिरुना मगरले मनसराबाट आफूले आफै“लाई अन्वेषण गर्ने अवसर मिलेको बताइन्।

‘सामान्यरूपमा एकल महिला कमजोर हुन्छिन्, उनलाई साथ चाहिन्छ, दुःख पाइरहेको हुन्छ। हास्दै हास्दैनन्, दुःखी हुन्छन् भन्ने देखिएकोमा, मनसरामा चाहिँ ऊ छिमेकीलाई पनि जिस्काउँछे, काम पनि गर्छे। एउटा महिला कतिको बलियो हुनसक्छिन् भन्ने मैले यो फिल्मको क्यारेक्टरमा महसुस गरेँ,’ उनको भनाइ छ। अभिनेता प्रवीण खतिवडाले मनसराबाट आफू पूर्णरूपमा आशावादी रहेको बताए।

दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, शान्ति गिरी, हेमन्त बुढाथोकी, नेनाहाङ राई, विप्लप प्रतीक, जीवन बराल, सुवासचन्द्र पोखरेल, अनील सुब्बा, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मणविक्रम बस्नेतलगायत कलाकारले अभिनय गरेको फिल्ममा झुम्बा लिम्बू, सुसन गौतम र फोसेलको संगीत, मनहाङ लावती, मणिक शंकर, सयोक मुकारुङ, शुभम् चाम्लिङ राई र मधु केरुङको कला निर्देशन, अष्टमान महर्जनको द्वन्द्व निर्देशन, शैलेन्द्रध्वज कार्कीको छायांकन निर्देशन र नेमिष गौतमको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्