रिक्त स्थानीय तहमा धमाधम पदपूर्ति

२ सय प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेकोमा ६० पदपूर्ति



काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समय देखि रिक्त रहेका झण्डैै दुईसय स्थानीय तहमध्ये पछिल्लो दुई हप्तामा ६० जना प्रमुख प्रशासकीय अधिकृतलाई पठाइ पदपूर्ति थालेको छ। रिक्त रहेका झण्डै २ सय स्थानीय तहमा ६० जना पदपूर्ति भएको मन्त्रालयले जनाएको छ।

यसैक्रममा बिहीबार २८ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइएका छन्। केही दिनअघि पनि ३० भन्दा बढी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइएको थियो । सामान्य प्रशासन मन्त्रालयले यो प्रक्रियालाई जारी राखिएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्राईले निमित्तका भरमा सञ्चालन भइरहेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाएर पदपूर्ति थालिएको बताउनुु भयो। निमित्तको भरमा पालिका सञ्चालन भइरहेको हुनाले क्रमशः बढुवा भएर आएका र नयाँ विज्ञापनबाट आएका उपसचिवहरुलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको पनि प्रवक्ता भट्टराईले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

यसरी रिक्त र निमित्तको भरमा रहेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाइएपछि ती स्थानीय तहको कामले गति लिने विश्वास मन्त्रालयले गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन महाशाखाका उपसचिव रामहरि शर्माले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तहको कामलाई प्रभावकारी बनाउन ती स्थानीय तहमा धमाधम प्रमुख प्रशासकीय अधिकृत पठाउन थालिएको जानकारी दिनुभयो । ‘यो क्रम जारी छ, रिक्त रहेका बाँकी स्थानीय तहमा पनि छिट्टै पदपूर्ति गरिने छ’ – उपसचिव शर्माले भन्नुभयो।

मन्त्रालयका अनुसार बिहीबार विभिन्न स्थानीय तहमा पठाइएकाहरुमा पितानाथ लुइँटेललाई कोल्हवी नगरपालिका बारा, सुरज श्रेष्ठलाई कनकाई नगरपालिका, झापा, धनेश्वर पौडेललाई राइनास नगरपालिका, लमजुङ, गणेशबहादुर कटुवालाई बराह क्षेत्र नगरपालिका, सुनसरीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।

यसै गरी खेमराज देवकोटालाई कृष्णनगर नगरपालिका कपिलवस्तु, कुमारप्रसाद भट्टराई इशनाथ नगरपालिका रौतहट, पोषण लामिछानेलाई चौतारा साँगाचोकगढी नगरपालिका सिन्धुपाल्चोक र देवराज चौलागाईंलाई बेलकोटगढी नगरपालिका, नुवाकोटमा सरुवा गरिएको छ।

यस्तै, बाबुराम पल्लीलाई रेसुङ्गा नगरपालिका, गुल्मी, मदनबहादुर जिसीलाई सन्धिखर्क नगरपालिका, अर्घखाँची, महेशबहादुर बमलाई भीमदत्त नगरपालिका, कञ्चनपुर र विष्णुप्रसाद सुवेदी दुधौली नगरपालिका, सिन्धुलीमा सरुवा हुनुभएको छ।

जयकान्त झालाई लहान नगरपालिका, सिरहा, सविनसिंह चौधरीलाई सुरुङ्गा नगरपालिका, सप्तरी, सिकेन्द्रप्रसाद साहलाई हरिपुर्वा नगरपालिका, सर्लाही, हरिकिशोरप्रसाद चन्द्रवंशीलाई पर्सागढी नगरपालिका, पर्सा र माधवप्रसाद ढकाल कीर्तिपुर नगरपालिका काठमाडौंमा सरुवा भएका छन्।

लक्ष्मीप्रसाद बाँस्कोटालाई मण्डनदेउपुर नगरपालिका, काभ्रेपलाञ्चोक, गंगालाल सुबेदी–माधवनारायण नगरपालिका, रौतहट, पिताम्बर पाण्डे –नमोबुद्ध नगरपालिका, काभ्रपलाञ्चोक, ईश्वरीप्रसाद शर्मा–बाह्रबिसे नगरपालिका, सिन्धुपाल्चोक, उर्मिला काफ्ले–जीतपुर सिमरा उपमहानगरपालिका, बारा र शिवप्रसाद हुमेगाईंलाई चाँगुनारायण नगरपालिका, भत्तपुरमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाइएको छ।

मन्त्रालय स्रोतका अनुसार कतिपय स्थानीय तहका प्रमुखहरु ऋाफू निकट प्रशासकीय अधिकृतलाई पठाउन माग गर्दै दैनिक रूपमा मन्त्रालयमा नै सोर्सका लागि आउने गरेका छन्। जसका कारण मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत व्यवस्थापन गर्न कठिनाइ हुँदै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्