सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्वजनिक गर्छु

36.38k
Shares

काठमाडौं ।

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले  आफू षड्यन्त्रको सिकार भएको बताएका छन्। बुधबार टी- २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफूमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

उनले पहिलो पोस्टमा भनेका छन्- ‘मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ । म षड्यन्त्रको सिकार भएकोमा मलाई कुनै शङ्का छैन। यस षड्यन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले साथ दिउन् । म सबै कुरा भगवानमा छोड्छु । सत्य तथ्य बाहिर नआएसम्म समयले बताउनेछ।’

त्यसपछि सन्दीपले अर्को पोस्ट गर्दै आफूमाथि भएको षड्यन्त्रमा संलग्न व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरेका छन्। उनले भनेका छन्- ‘म सम्बन्धित अदालतको कानुन र आदेशको सम्मान गर्दछु। तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु, जो यस मुद्दामा संलग्न छन्।’

विस २०७९ भदौमा बलात्कारको उजुरीपछि सन्दीपलाई गत पुसमा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद, तीन लाख जरिबाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका छन् भने जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै जिल्ला सरकारी वकिलको कार्यालयले पनि उच्च अदालत पाटनमा पुनरावेदन गरेको छ।

अहिले उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ राखेर सुनुवाइ गरिरहेको छ।