आन्दोलनबाट जन्मिएका गायक जुजुकाजी गुञ्जिए पिरतीका गीतमा

564
Shares

काठमाडौं

उमेरले ६९ वर्षमा हिँड्दै गरेका जुजुकाजी रञ्जित २०२२ सालमा काठमाडौं उपत्यकामा भएको भाषिक आन्दोलनले जन्माएका गायक हुन्। झन्डै ६० वर्षको गायनयात्रामा उनका माया, पिरतीसम्बन्धी गीत स्रोतामाझ बढी चर्चामा छन्।

आन्दोलनबाट चिनिएका, तर नरम स्वरका रञ्जितको व्यक्तित्वलाई नेपाल भाषाका अरू गायकभन्दा पृथक बनाएको छ। मंगलबार छैमलेमा आयोजित जुजुकाजी एकल साँझ पुराना पुस्तासँगै नयाँ पिढीका स्रोतामाझ गीतको रसस्वादका साथ जुजुकाजीको पहिचानलाई पुनःस्मरण गराउने माध्यम बन्यो।

कार्यक्रम पेज थ्री पाक्षिक पत्रिका प्रकाशन भएको चार सय अंक पुगेको अवसरमा इंलोह प्रकाशन प्रालिले आयोजना गरेको हो। कार्यक्रममा उनले हरिबहादुर रञ्जितको रचना र संगीत रहेको चर्चित गीत नापं च्वने मदुसा (संगै बस्न नपाए पनि) बोलको गीत, सुनीता रञ्जितको शब्द र वीरेन्द्र शाक्यको संगीत रहको छन्त जि धात्थे यःगु खःसा (तिमीलाई म साँच्चीकै मनपरेको हो भने) र छंगु म्हगः गुलि बाला, नुगनं उलि हे बालाः (तिम्रो जीउ जति राम्रो छ, मन पनि उतिकै राम्रो) गीत गाउने क्रममा दर्शक उनीसंगसंगै झुम्मिएका थिए।

साँझमा गुञ्जिएका गीतले त्यहाँ उपस्थिति दर्शकलाई गीतसँग जोडिएका आआफ्नो प्रेम सम्बन्ध स्मृतिको प्रवाहमा बगेर आनन्दको अनुभूत गर्ने अपूर्व क्षण बनेको थियो। युगल गीत गाउने क्रममा गायक रञ्जितलाई चर्चित गायिका रत्नशोभा महर्जनले साथ दिए उनको सांगीतकी साँझलाई थप रौनकपूर्ण बनाएको थियो। उनलाई लाइभ गाउन सेभन वण्डर्स ब्यान्डले साथ दिएको थियो।

एकल साँझ गीतमात्र नभई उनको गीतियात्रा गायनको विशेषता चर्चा गर्ने अवसर बनेको थियो। एकल साँझपछि इंलोह प्रकाशन प्रालिले गायक रञ्जितलाई पेज थ्री अवार्ड प्रदान गरेको थियो।

सो अवसरमा वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले गायक रञ्जितलाई सम्मानपत्र प्रदान गरे भने प्रालिका अध्यक्ष नरेशवीर शाक्यले दोसल्ला ओढाएका थिए। सो अवसरमा ललितपुर महानगरपालिका– १६ वडा कलाकार समितिले पनि गायक रञ्जितलाई सम्मानपत्र प्रदान गरेको थियो।

पेज थ्री पत्रिकाका सम्पादक दर्शनवीर शाक्यले गायक रञ्जित नगद सम्मानसहित नेपाल भाषाको सांगीतिक यात्रामा रञ्जितको योगदानलाई पुनःस्मरण गराउन कार्यक्रम आयोजना गरिएको बताए। दक्षिणकाली नगरपालिकका मेयर मोहन बस्नेतले गीत सुनेर आफू मन्त्रमुग्धित भएको उल्लेख गर्दै यस्तो अर्को सांगितीक साँझ फर्पिङ बजारमा गर्न जोड दिएका थिए।

नेपाल भाषाको पहिलो फिल्म सिलुको सबैका गीतका गायक रञ्जिले १० वर्षको उमेरमा रेडियो नेपालबाट स्वर परीक्षा उर्तीण गरेका थिए। उनले नेपाली भाषामा पनि थुप्रै गीत गाएका छन्। नेपाली भाषामा उनका मकैको जमरा, सालै ज्यूलगायत गीत ऊ बेला रेडियो नेपालमा निकै गुञ्जिने गर्थे।

नेपाल भाषामा झन्डै ६ दशक लामो निरन्तर गायनयात्राले रञ्जितलाई हस्ती गायकको रूपमा स्थापित गरेको छ। रञ्जितले २०३१ सालमा रंगराव कादम्बरीबाट शास्त्रीय संगीतको प्रशिक्ष्ँण लिएका थिए।

उनले नेपालबाट गीत रेकर्ड गर्न भारत जानुपर्ने अवस्था तोडेका थिए। अहिलेसम्म गाएका एक सय आठ गीतमध्ये स्रोतामाझ थुप्रै गीत लोकप्रिय छन्।

उनले ती गीत लाइभ अकेष्ट्रासहित गाएका थिए। पेशागत रूपमा हाइड्रो इन्जिनियर रहेका रञ्जितले रुसमा अध्ययन गर्ने क्रममा थुप्रै गीत गाएका थिए।