आर्थिक अभाव हुँदा रञ्जिताको उपचारमा समस्या



काठमाडौँ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालभित्र रहेको सुरेश वाग्ले क्यान्सर अस्पतालको तेस्रो तलामा एक महिला आर्थिक अभावमा छटपटाइरहेकी छन् । हेमोलायलासिस युनिट ‘ए’ को ७ नम्बर बेडमा उपचार गराइरहेकी रञ्जिता महतलाई उपचार खर्चको अभाव भएको हो ।

बिरामीको अवस्था बुझ्न जाँदा छेवैमा उनका भाइ, आफन्त थिए । सेवामा खटिएका नर्सले भेट्न आएकालाई पालैपालो आइदिनोस् भन्दै अनुरोध गरिरहेका थिए । भुम्लु गाउँपालिका–२ सिमथली काभ्रेपलाञ्चोकका सानुकाजी महतकी ३२ वर्षीय छोरी रञ्जिता ‘लुपस’ नामक रोगको उपचार गराइरहेकी छन् ।

चार वर्षअघि देखिएको उक्त रोगले विगत एक वर्षदेखि मृगौलामा समेत असर गरेको छ । उपचार गर्दागर्दै आर्थिक अवस्था कमजोर भएको रञ्जिताको कथन छ । भेट्न आउने व्यक्तिसँग उनी ‘मरो उपचार गरिदिनुस्, निको भएपछि तपाईंहरुले दिएको सहयोग रकम फिर्ता गर्छु’ भन्दै भक्कानिन्छिन् । भेट्न आउने आफन्त, इष्टमित्र हृदयविदारक दृश्य देखेर आफूले सकेको सहयोग गरिरहेका छन् ।

पदमबहादुर महतले १ लाख, ईश्वरी महतले ५० हजार गत मंगलबार बिहान बिरामीकै हातमा दिएका छन् । दाताले दिएको रकमले रञ्जिताको मृगौलाको डायलाइसिस लगायतको उपचार भइरहेको छ । ‘दिदी बिरामी भए यता उपचारका लागि सकेजति पहल गरेका छौं । तर, अहिले झन्–झन् गाह्रो हुँदै गएको छ’, उनका भाइ अनिश महत भन्छन्– ‘शरीर पूरै सुन्निनुका साथै पछाडि भागमा डाबर र फोका नै फोका छ । पेट फुलेको छ । हात–गोडा पनि सुन्निएको छ । ठाउँ–ठाउँमा रगत जमेर नीलो र रातो भएको छ ।’ अस्पतालमा उपचारका लागि आर्थिक अवस्था कमजोर हुँदै गएकाले आफन्तसमक्ष हारगुहार गरेको उनको भनाइ छ ।

‘अस्पतालमा पैसा नभई कुनै उपचार हुँदैन । डायलाइसिस गर्नुपर्ने, लुपसको उपचार गर्नुपर्ने लगायतका आर्थिक व्यवस्थापन गर्न निकै कठिन भएकाले मनकारी दाताहरु समक्ष दिदीलाई सहयोग गरी बचाइदिन अनुरोध गर्दछु ।’ –उनकी बहिनी मेनिता महत अपिल गर्छिन् ।

अस्पतालको बेडबाट अपिल गरिरहँदा कसको मन नकुडिएला र । अस्पतालमा भेट्न आउने हरेकले सकेको सहयोग दिँदै आएका छन् । उनको जीवन बचाउन सहयोग गर्न चाहनेलाई उनको भाइ अनिशको कामना सेवा विकास बैंक, शान्तिनगर काठमाडौं शाखामा रहेको खाता नम्बर १२५१४१००४०६२०५०००००१ मा जम्मा गरी अथवा मोबाइल नम्बर ९८६१०६७४५१ मा सम्पर्क गरेर सहयोग गर्न आफन्तले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्