धरानमा ६ वर्षपछि गुञ्जियो कन्दरा

154
Shares

काठमाडौं ।

लोकप्रिय पोखरेली ब्यान्ड कन्दराले पहिला घरदेश अनि परदेश भन्ने नाराका साथ सातै प्रदेशका मुख्य शहरमा सांगीतिक कार्यक्रम गर्ने उद्देश्यअनुरुप पोखरापछि धरानमा आफ्ना लोकप्रिय गीत प्रस्तुत गरेको छ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरान रंगशालामा आयोजित कन्दरा लाइभ इन धरान कार्यक्रममा ब्यान्डले रिभाइभ भएको सांगीतिक सदस्यसहित धराने दर्शकमाझ सेवारो धरान भन्दै कन्सर्ट शुरू गरेको थियो। राति अबेर गरी स्टेज चढेका कन्दरा ब्यान्डका मुख्य सदस्य तथा गायक विवेक श्रेष्ठले तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमले बोलको लोकप्रिय गीतबाट कार्यक्रमको सुरुवात गरेका थिए।

बीच–बीचमा पर्यटन प्रवद्र्धनको कुरा गर्दै उनले नयाँ पुरानासहित दुई घन्टासम्म ब्यान्डका गीत लगातार गाइरहे। दर्शक गीतमा उनीसँगै गाउँदै, नाच्दै रमाइरहे। विवेकले रातै बिझायो दिनै बिझायो, जिन्दगी यो उत्सव हो, विदेसिएर गइनँ उनी, सुन्दर बिहानी, डाँडापारि, भेडीगोठैमा, फुल्चोकीको डाँडैमा, चञ्चले कान्छीको, तिमी पारी त्यो गाउँमा, लेककी हे माया, हङकङ पोखराजस्ता आफ्ना अति नै लोकप्रिय गीतसँगै भर्खरै रिलिज भएको गीत विचरा मसँगै , जयजय नेपाल बोलको राष्ट्रिय गीत पनि प्रस्तुत गरेका थिए।

दर्शकमाझ आफ्ना कुरा राख्दै गाउँदै गरेका उनले धरान तथा भेडेटार क्षेत्रमा गज्जबको घुम्ने स्थान रहेको बताए । ‘पोखरामा त यति धेरै घुम्ने ठाउँ छ। धरानमा पनि घुम्ने ठाउँ रै’छ हो’ गाउने क्रममा उनले भने। धरानका मेयर हर्क साम्पाङको काम र श्रम संस्कृतिपार्कको तारिफ गर्दै धरानको श्रम पर्यटनको प्रचार गर्नेसमेत बताए।

मादलमा सुनील थापा, पहिलोपटक जिप्सिज्याज म्युजिक भित्र्याएका हरि महर्जन, गीतारवादक देव लामा, बेस गितारमा पंकज झा, ड्रमसेटमा सुन्दर महर्जनलगायत ब्यान्ड सदस्यको टिमअपमा कन्दरा रिभाइभ भएको हो।

३२ वर्षअघि पोखरामा स्थापित कन्दरा ब्यान्ड नेपाली दर्शक तथा स्रोतामाझ आफूलाई फरक पहिचान बनाउन सफल छ। अहिले पनि कन्दरा ब्यान्डको लोकप्रियतामा कुनै कमी छैन भन्ने ब्यान्डको कन्सर्टले पुष्टि गरेको छ।

६ वर्षअघि पनि पूर्वको धरान, दमक र बिर्तामोडमा सफल कन्सर्ट गरेको कन्दराले अहिले पहिला घरदेश अनि परदेश भन्ने नाराका साथ आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने क्याम्पेनसहित कार्यक्रम गरिरहेको गायक विवेक श्रेष्ठले बताए। कन्दरा ब्यान्ड अब अन्य प्रदेशका मुख्य शहरसँगै पूर्वका कुना–कन्दरामा समेत प्रस्तुति लिएर जाने तयारी गरिरहेको गायक विवेक श्रेष्ठले बताए।