क्यान्सरका कुल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’

11.56k
Shares

काठमाडौँ। 

दक्षिण एसियामा क्यान्सरका कुल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको दावी गरिएको छ ।
कान्तिपुर डेन्टल कलेज (केडीसी)र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीको आयोजनामा शनिवार वसुन्धरामा आयोजित मुखको क्यान्सर सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा सो जानकारी दिइएको हो ।

कार्यक्रममा नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीका कार्यकारी निर्देशक एवम् क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले सूर्तीजन्य पदार्थको जथाभावी प्रयोगले मुखको क्यान्सरका बिरामी बढेका बताए।

‘चुरोट, बिँडी, हुक्का, तम्बाकु, गुड्खा, पानलगायतका सूर्तीजन्य पदार्थसेवनका कारण मुखको क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा हिमाल र पहाडको तुलनामा तराईमा मुखको क्यान्सरका बिरामीको संख्या धेरै रहेको पाइएको छु,’ उनले भने।त्यसैगरी वार्षिक दुई प्रतिशत बिरामीको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको पाइएको समेत उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतीश देवले काउन्सिलले क्यान्सरपीडित बिरामीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र त्यस कार्यमा यस्ता अन्तर्राष्ट्रिय गोष्ठीमा व्यक्त तथ्य र तथ्याङ्कले थप रणनीति बनाएर काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

यस्तै  कान्तिपुर डेन्टल कलेजका प्रिन्सिपल प्राडा रविन्द्रमान श्रेष्ठले देशभरका दन्त चिकित्सकलाई मुखको क्यान्सरसम्बन्धी तालिम दिन जरूरी रहेको उल्लेख गरे। उनले पछिल्लो समय बढ्दै गएको मुखको क्यान्सरसम्बन्धी समस्याबारे जानकारी दिन कान्तिपुर डेन्टल कलेजले विभिन्न निकायसँगको सहकार्यमा काम गरिरहेको समेत बताए।

एकदिने अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत र बङ्गलादेशका एक सय भन्दा बढी डाक्टरको सहभागिता थियो ।