उपनिर्वाचनको सुरक्षा तयारी पूरा, मतदातालाई ढुक्क भएर मतदान गर्न आग्रह

42
Shares

काठमाडौं ।

भोलि शनिबार सम्पन्न हुने इलाम क्षेत्रनम्बर २ र बझाङको प्रदेशसभा उपनिर्वाचनमा सुरक्षाको तयारी पूरा भएको छ। ती दुई क्षेत्रमा हुने निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायले सबै तयारी पूरा भएकाले ढुक्कका साथ मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेको छ।

दुवै क्षेत्रको निर्वाचनको सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले मतदाता, मतदानस्थल, मतपेटिका, उम्मेदवार र विशिष्ट व्यक्तिको सुरक्षाका लागि चाहिने सबै सुरक्षा प्रबन्ध मिलाएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीम ढकालले जानकारी दिनुभयो।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न हुन नदिने तत्वहरू सक्रिय हुन सक्ने आंकलन गर्दै त्यस्ता समूहको पहिचान गरी सुरक्षा व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो।

यसपटकको निर्वाचनमा मतदान केन्द्रको भित्री सुरक्षा नेपाल प्रहरीले गर्ने भएको छ भने मतदानस्थल बाहिरको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बलले गर्ने भएको छ। सुरक्षा निकायले इलामका ३७ मतदान केन्द्रलाई अतिसंवेदनशील क्षेत्र घोषणा गरेर सोहीअनुरूपको जनशक्ति परिचालन गर्ने भएको छ।

त्यस्तै, इलामका ४१ मतदान केन्द्रलाई संवेदनशील र ७१ मतदान केन्द्रलाई सामान्य रूपमा वर्गीकरण गरेको छ । इलाममा समान्य मतदान केन्द्रमा ८ देखि १३ जना, संवेदनशील मतदान केन्द्रमा ९ देखि १४ जना र अतिसंवेदनशील क्षेत्रमा १२ देखि १७ जना नेपाल प्रहरीका सुरक्षाकर्मी खटिने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

इलाममा नेपाल प्रहरीका १ हजार ३ सय ६३ जना जनशक्ति परिचालन हुने भएका छन् भने सशस्त्र प्रहरी बलको इलाममा ५ सय ५० जना जनशक्ति परिचालन हुने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।

यसपटक इलामको उपनिर्वाचन नयाँ र पुराना दलका लागि अग्नि परीक्षा भएकाले सबै दलले आफ्नो सबै शक्ति सोही क्षेत्रमा लगाएकाले पनि जुनसुकै बेला जे पनि हुन सक्ने भएकाले नेपाल प्रहरीले कोशी प्रदेशका प्रहरी प्रमुखलाई इलाममा नै मुकाम राखेर बस्न प्रधान कार्यालयले निर्देशन दिएको छ। अहिले कोशी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुवेर खापुङ इलाम पुग्नुभएको छ।

इलामलाई राजनीतिक दलले प्रतिष्ठाको विषय बनाएपछि सुरक्षा निकायका प्रमुखहरू छलफललाई तीव्र बनाएका छन्। खास गरी पहिचान पक्षधर भनिएकाहरूबाट सुरक्षा थ्रेटको महसुस गरेको भन्दै सुरक्षा निकायले उनीहरूको गतिविधिको बारेमा नजिकबाट निगरानी गरिरहेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

त्यस्तै, बझाङको प्रदेशसभा उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको छ। सुरक्षा निकायले बझाङ प्रदेशसभा निर्वाचनका लागि तोकिएका मतदान केन्द्रहरूको विश्लेषण गरेको सुरक्षा निकायले ३२ मतदान केन्द्रलाई अतिसंवेदनशील क्षेत्र घोषणा गरेर सोही अनुरूपमा सुरक्षाकर्मी परिचालन गरेको प्रवक्ता ढकालले जानकारी दिनुभयो।

सो निर्वाचन क्षेत्रमा ३० वटा मतदान केन्द्र संवेदनशील र ३१ मतदान केन्द्र सामान्य रहेको बताउँदै सुरक्षा निकायले बझाङमा १ हजार २४ जना नेपाल प्रहरी परिचालन हुने भएको छ। त्यस्तै, सशस्त्र प्रहरी बलले सो निर्वाचनमा ४ सय सुरक्षाकर्मी परिचालन गरेको छ।

दुवै निर्वाचन क्षेत्रमा नेपाली सेनासमेत परिचालन हुने भएको छ। सेनाले भने निर्वाचन क्षेत्रभरिको अवस्थाको विश्लेषण गरी पट्रोलिङ गर्ने र सुरक्षाको अवस्थाको बारेमा जानकारी लिने काम गरिरहेको छ।