![](https://newsofnepal.com/wp-content/uploads/2022/09/volleyball-1.jpg)
काठमाडौं ।
डिफेन्डिङ च्याम्पियन न्युडायमन्ड र नेपाल एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुआत गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो खेलमा न्युडायमन्डले नेपाल आर्मीलाई २५–१२, २५–१५, १७–२५ र २५–२१ को सेटमा पराजित गरेको थियो। दोश्रो खेलमा एपीएफले नेपाल प्रहरीलाई २५–२१, २२–२५, २५–१७ र २५–१६ को सेटमा हरायो । योसँगैं न्युडायमन्ड र एपीएफले ३–३ अंक जोडेका छन्।
प्रतियोगिताको विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्नेछन्। तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको ‘प्लेयर अफ दि म्याच’ लाई १५ हजार रुपैयाँ नगदबाट पुरस्कृत प्रदान गरिनेछ।
पुनमलाई स्पेशल अवार्ड
आयोजक शेरबहादुर स्मृति प्रतिष्ठानले उद्घाटनको अवसरमा भलिबल खेलाडी पुनम चन्दलाई स्पेशल अवार्डबाट सम्मान गरेको छ । पुनमलाई आफ्नो खेल कौशल र महिला भलिबलको क्षेत्रमा पुर्याएको योगदान भावी खेलाडीका लागि पनि अनुकरणीय हुने भन्दै सम्मान गरेको आयोजक प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जनाएका छन्। राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पुनमलाई ५० हजार नगदसहित ट्रफी प्रदान गरी सम्मान गरेका थिए।
पुनमले २०७६ साउन ३२ देखि भदौ ८ गते सम्म बंगलादेशको ढाकामा सम्पन्न प्रथम एभीसी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा स्वर्ण, २०७६ मंसिर १५ देखि २४ गतेसम्म नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई ऐतिहासिक रजत र गत वर्ष नेपालमा आयोजना भएको तेस्रो एभीसी एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा कांस्य पदक दिलाउन योगदान गरेकी थिइन्।