सानेपाको शानदार जित



काठमाडौं ।

सानेपा क्लबले जारी सहिद स्मारक सी डिभिजन लिगअन्तर्गत मंगलबार शानदार जित हासिल गरेको छ। सातदोबाटोस्थित एन्फाको मैदानमा भएको खेलमा सानोपाले छीमेकी टोली झम्सिखेल युवा क्लबलाई ४–१ ले हराएको हो।

पेम्बा दोर्जे लामाको दुई गोलको सहयोगमा सानेपाले जित दर्ता गर्न सफल भयो । योसँगै चार खेलमा सात अंकसहित सानेपा तेस्रो स्थानमा उक्लियो भने पराजित झम्सिखेलले ४ खेलबाट ३ अंक मात्रै जोडेको छ । १४ टोली सहभागि प्रतियोगितामा झम्सिखेल नवौं स्थानमा रहेको छ।

सानेपाले २२औं मिनेटमा पेम्बाको पेनाल्टी गोलमार्फत अग्रता लियो । झम्सिखेलका प्रकाश पाख्रिनले पेनाल्टी बक्समा खेमराज तामाङलाई लडाएपछि सानेपाले पेनाल्टी प्रहार गर्न अवसर प्राप्त भयो । जसलाई पेम्बाले कुनै गल्ती नगरी गोलमा परिणत गरे । पेम्बाले पेनाल्टीमार्फत नै ५८औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । यसपटक पनि प्रकाशले पेनाल्टी क्षेत्रमै खेमराजमाथि नै फाउल गर्न पुगेका थिए ।

त्यसको एक मिनेटमा आत्मघाती गोलले सानेपाको अग्रता ३–० मा पुग्यो। सौजन राईले गोलकीपरतिर ब्याक पास गरेका थिए। तर, बलले आफ्नै पोस्टको दिशा लिएको थियो। सन्देश श्रेष्ठले ७८औं मिनेटमा गोल गर्दा झम्सिखेलले अग्रता ३–१ मा खुम्च्याएको थियो। सन्देशले कप्तान सञ्जय रम्तेलको कर्नरलाई हेडमार्फत गोल गरेका थिए । संभ्रान्तसिंह डंगोलले इन्जुरी समयमा गोल गरेपछि सानेपाले ठूलो जित निकाल्न सफल भयो ।

क्लबहरूको चेतावनी

अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८०/८१ सिजनमा हुनु पर्ने सी डिभिजन लिग २०८० साल सकिन लाग्दा बल्ल शुरु गर्‍यो। खेल संचालन भइरहँदा सी डिभिजन लिगमा सहभागी नौ टोलीले एन्फालाई चेतावनी दिएको छ। यी नौ टोलीले एन्फासमक्ष विभिन्न माग राखेकामध्ये बी डिभिजन लिगको मिति घोषणा गर्नु पर्ने परेको छ।

यी क्लबहरूले हाल चलिरहेको सी डिभिजनको सातौं चरणसम्म पनि बी डिभिजन लिगको मिति घोषणा नगरे प्रतियोगितामा नखेल्ने चेतावनी दिएका हुन्। एन्फाले गत चैत २५ गतेदेखि बी डिभिजन लिग शुरु गर्ने खेलतालिका निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्