कतारी राजा थानीको भ्रमण उपलब्धिमूलक बन्ला ?

आज नेपाल र कतारबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर हुँदै

126
Shares

काठमाडौं ।

कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अपराह्न काठमाडौं आउनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्नुभएको थियो।

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने भ्रमणमा आउनुभएका कतारी राजा थानीको सम्मानमा नेपाली सेनाको टोलीले विमानस्थलमा विशेष सम्मान गारद र २१ तोपको सलामी दिएको थियो ।

कतारी राजा थानी र राष्ट्रपति पौडेलबीच मंगलबार साँझ नै राष्ट्रपति भवन शीतल निवासमा द्विपक्षीय भेटवार्ता भएको थियो । भेटमा नेपाल र कतारबीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोलगायतका विषयमा छलफल भएको बताइएको छ । साथै राष्ट्रपति पौडेलले इजरायल आक्रमणमा हमासले बन्दी बनाएको नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल गरिदिन पनि कतारी राजासँग आग्रह गर्नुभएको बताइएको छ ।

उक्त भेटवार्तामा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, राष्ट्रपतिका प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवं सल्लाहकार सहभागी थिए । त्यसै गरी कतारी राजा थानीसँगै ११ जनाको विशेष प्रतिनिधि मण्डलका सदस्यहरू सहभागी थिए।

उक्त विशेष प्रतिनिधि मण्डलमा कतारको प्रशासनिक मामिला हेर्ने अमिरी दिवान प्रमुख शेख साउद बिन अब्दुल रहमान, यातायातमन्त्री जसिम विन सैफ अल सुलाती, वाणिज्य तथा उद्योगमन्त्री शेख मोहम्मद बिन हमाद बिन कासिम, परराष्ट्र राज्यमन्त्री सुल्तान बिन साद अल मुरैखी, अमिरी दिवानको अध्ययन तथा अनुसन्धान विभागका निर्देशक साद बिन नासेर अल काबी रहनुभएको छ।

त्यसै गरी कतार लगानी प्राधिकरणको एसिया र अफ्रिका लगानी प्रमुख शेख पैसल बिन थानी अल थानी, परराष्ट्र मन्त्रालयको एसिया मामिला विभाग प्रमुख युसुफ सुल्तान लाराम, कतारी राजाका स्वकीय सचिवालय प्रमुख बिन घनिम अल्होदैफी, राज दरबारको समारोह विभागका सहायक निर्देशक तलाल बिन अल्मास अल सुलती तथा राजाका निजी सहायक मन्सुर फलेह अल हजरी रहनुभएको छ । वार्तालगत्तै राष्ट्रपति पौडेलले कतारी राजा थानीको सम्मानमा रात्री भोजको आयोजना गर्नुभएको थियो ।

आजै प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानीबीच द्विपक्षीय वार्ता हुँदैछ । सोल्टी होटेलमा हुने उक्त द्विपक्षीय वार्तापछि नेपाल र कतारबीच युवा तथा खेलकुदमा आपसी सहयोगसम्बन्धी समझदारीपत्रका साथै शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्र र राष्ट्रिय समाचार समिति (रासस) र कतारको ‘कतार न्युज एजेन्सी’ बीच समाचार आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुँदैछ । काठमाडौं आउनुअघि बंगलादेश भ्रमणमा रहेका कतारी राजाको टोलीले त्यहाँको सरकारसँग लगानी, श्रम र बन्दरगाह व्यवस्थापनलगायत विभिन्न विषयमा सहयोग विस्तार गर्ने पाँचवटा सम्झौतामा हस्ताक्षर गरेको थियो ।

कतारी राजा थानीको भ्रमणमा कतारमा कार्यरत नेपाली कामदारको हकहितका विषयमा छलफल हुने भनिए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुंगो लाग्न सकेको छैन। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलराज अर्यालले नेपाल समाचारपत्रसँगको कुराकानीमा श्रम सम्झौताको पुनरावलोकन हुने सम्भावना कम रहेको बताउनुभएको छ । उहाँका अनुसार श्रम मन्त्रालयले आफ्नो तर्फबाट लेखेर परराष्ट्र मन्त्रालयलाई पठाएको र परराष्ट्रले पनि नेपालस्थित कतारी दूतावासमार्फत् पत्राचार गरिसकेको छ । तर, त्यसको सकारात्मक जवाफ भने आइसकेको छैन । कतारमा हाल झण्डै चार लाख नेपाली विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।

भ्रमण दलमा डेढ सयभन्दा बढी सदस्य रहेको भ्रमण दलको नेतृत्व गरेका कतारी राजा थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज द्वारिकाज होटलमा दिवाभोजको आयोजना गर्दै हुनुहुन्छ । दिवाभोजमा सहभागी भएर कतारी राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्कने कार्यक्रम छ ।

कतारी राजालाई दुई हात्ती उपहार

नेपालको दुईदिने भ्रमणमा आउनुभएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपालले दुईवटा हात्ती उपहार दिने भएको छ। नेपालको इतिहासमा पहिलोपटक मध्यपूर्वको देश कतारबाट नेपाल आउनुभएका राजा थानीलाई चितवनमा रहेको रुद्र कली र खगेन्द्रप्रसाद नाम गरेका हात्ती उपहारस्वरूप दिन लागिएको हो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनले कतारलाई उपहारस्वरूप दिने हात्तीलाई तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। दुवै हात्ती तालिम प्राप्त हुन्। उपहार दिने हात्तीको स्वास्थ्य परीक्षणसमेत गरिएको र ती दुवै हात्तीको स्वास्थ्यमा कुनै समस्या नरहेको निकुञ्ज कार्यालयले जनाएको छ।

कतारबाट आएका प्रविधिकहरूले नेपालले उपहारस्वरूप दिन लागेको हात्तीको अवस्थाको बारेमा जानकारी लिएको र नेपालका प्राविधिक टोलीले पनि कतारमा हात्ती राख्ने ठाउँको निरीक्षण गरिसकेको छ। ती दुवै हात्तीलाई कतार एयरमार्फत् लैजाने तयारीसमेत गरिएको छ।

नेपालले कतारलाई पहिलोपटक हात्ती उपहार दिन लागेको हो । नेपालले यसअघि गैंडा, बाघलगायतका जनावर उपहार दिए पनि हात्ती उपहार दिएको यो पहिलोपटक हो ।