पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई परिषद्को अभिमुखीकरण



कास्की

 पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीलाई अभिमुखीकरण गरिएको छ । पशु स्वास्थ्य तथा पशु सेवा परिषद्को आयोजनामा सोमवार गण्डकी प्रदेशमा रहेका पशु स्वास्थ्य तथा पशु सेवा प्राविधिक एवं व्यवसायीलाई परिषद्को ऐन नियम र अचार संहिता सम्बन्धी अभिमुखीकरण गरिएको हो ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयको सभाहलमा सोमवार सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रममा गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहका दर्ता हुन योग्य प्रतिनिधि मूलक रूपमा १ सय ७५ जना दक्ष जनशक्तिको सहभागिता रहेको परिषद्का केन्द्रीय सदस्य एवं कार्यक्रम संयोजक सुरेश श्रेष्ठले बताए ।

नेपाल पशु स्वास्थ्य तथा पशुसेवा व्यवसायी परिषद ऐन, २०७९ सांसदबाट पारित भएपछि पशुपन्छी क्षेत्रका प्राविधिकको नियामक निकाय गठनको बाटो खुलेको थियो । त्यसको एक वर्षपछि परिषद्ले रजिस्ट्रार पाएको थियो ।

सातै प्रदेशमा आयोजना गरिने अभिमुखीकरण कार्यक्रम गण्डकी प्रदेशबाट सुरुवात गरिएको र लुम्बिनी प्रदेशमा वैशाख १२ गते र कोशीमा १४ गते सोही प्रकारको अभिमुखीकरण कार्यक्रम हुने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका पशु चिकित्सक समेत रहेका श्रेष्ठले बताए ।
देश भरमा एक लाख बढी दर्ता हुन योग्य पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी रहेका छन् भने गण्डकीमा मात्र १५ हजार रहेको र नियमावली बन्दै गरेको नियमावली आएपछि सदस्य दर्ता प्रक्रिया अगाडी बढ़ाईने श्रेष्ठले बताए ।

परिषद्का केन्द्रीय अध्यक्ष देवेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा परिषद्का रजिस्ट्रार पूर्णबहादुर बुढाले परिषद्को ऐन सम्बन्धी, उपाध्यक्ष जनकबहादुर रावलले परिषद्को आचार संहिता र केन्द्रीय सदस्य सुरेश श्रेष्ठले परिषद्को सङ्गठन सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

अभिमुखीकरण कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष यादवले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको सेवा र व्यवसायलाई व्यवस्थित, गुणस्तरीय एवं मर्यादित ढंगले परिचालन गरि प्रभावकारी पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायको विकास गर्न ग्रामीण पशु स्वास्थ्य कार्यकर्ता र पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुको दर्ता र नियमन गर्ने मूल उद्देश्यका साथ परिषद्‌को स्थापना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्