प्रतिष्ठाको लडाइँ बन्दै इलामको उपनिर्वाचन

532
Shares

काठमाडौं ।

वैशाख १५ हुने इलाम क्षेत्रनम्बर २ को उपनिर्वाचन राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति रहेका दलहरूका लागि प्रतिष्ठाको लडाइँ बनेको छ। आ–आफ्नो उम्मेदवार जिताउन नेपाली कांग्रेस र नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीसहित पहिचानवादीका तर्फबाट उठेका स्वतन्त्र उम्मेदवार पक्षका नेताहरूसमेत निरन्तर भूगोल केन्द्रित भएर प्रतिष्ठाको लडाइँ जित्ने योजनामा सक्रिय भएका छन्।

उपनिर्वाचनमा शाख जोगाउने र सिट थप्ने प्रतिष्पर्धामा लागेका पुराना र नयाँ दलहरू तथा स्वतन्त्र उम्मेदवारले समेत कम्मर कसेर लागेकाले आफ्नै जित हुने दाबी गर्दै आएका छन्।

आम निर्वाचनमा करिब हाराहारी सिट प्राप्त गरेका नेपाली कांग्रेस र नेकपा एमालेबीच मुख्य प्रतिष्पर्धा देखिएको यो उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थितिले चुनावी माहोल थप रोचक बनाएको छ।

उपनिर्वाचनमा संसद्को सबैभन्दा ठूलो दल कांग्रेस र दोस्रो ठूलो दल एमालेबीच नै मुख्य प्रतिष्पर्धा हुने देखिन्छ। उता, रास्वपा र पहिचानवादीको तर्फबाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारबीच को तेस्रो–चौथो हुने भन्ने विषयसमेत प्रतिष्ठाको विषय बनेको स्थानीय राजनीतिकर्मीहरू बताउँछन्।

बिरासत जोगाउन एमालले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएकोप्रति एमालेकै कतिपय पुराना नेताहरू सन्तुष्ट देखिँदैनन् । उता, कांग्रेसले गत निर्वाचनमा सुवाससँगै पराजित नेता डम्बर खड्काले नै टिकट लगेपछि पार्टीका कतिपय नेताहरू सन्तुष्ट छैनन्।

यद्यपि, यो पटक कम्युनिस्टको गढ मानिँदै आएको इलाममा जित निकालेरै छाड्ने गरी आन्तरिक एकतालाई बलियो बनाएको उम्मेदवार डम्बर खड्काले बताउनुभयो। रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा रास्वपाका तर्फबाट रास्वपाका मिलन लिम्बू आएको उद्घोषसहित चुनावी मैदानमा रणनीति बनाइरहनुभएको छ। यो उपनिर्वाचनमा सिङ्गो देशको ध्यान केन्द्रित भएको छ।

राजनीतिक दलहरू उपनिर्वाचनमा आउने परिणामले आगामी राजनीति यात्रा कसरी तय गर्ने भन्ने योजनाका साथ लागि परेको नेताहरूले बताएका छन्। त्यस्तै, बुद्धिजीवीदेखि आम नागरिक र आम सञ्चार माध्यमहरूले पनि यो निर्वाचनबाट आउने परिणामले देशको राजनीतिक यात्रालाई तय गर्न सक्ने विश्लेषणहरू गरिरहेका छन् ।

उक्त उपनिर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी ओली, उपाध्यक्ष तथा सचिवहरू, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा, युवा नेताहरू प्रदीप पौडेल, रामहरि खतिवडालगायतका नेताहरू इलाम केन्द्रित छन्।

त्यस्तै, रास्वपाका सभापति एवं गृहमन्त्री, उपसभापति तथा श्रममन्त्री डीपी अर्याललगायतका नेताहरूले इलामको उपनिर्वाचनमा जित निकाल्ने प्रयत्नमा निरन्तर खटिएका छन्। पहिचान पक्षधर नेताहरूले समेत आक्रामक रूपमा चुनावी प्रचारलाई अघि बढाएका छन् । एकीकृत समाजवादीले समेत आफ्नै उम्मेदवारले जित्ने गरी लागेको सम्मानित नेता झलनाथ खनालले बताउनुभएको छ।

त्यस्तै कांग्रेसका नेता प्रदीप पोडेलले आइतबार चुनावी सभालाई सम्बोधन गर्दै उपनिर्वाचनले बरालिएको नेपालको राजनीतिलाई दिशानिर्देश गर्ने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘यो उपनिर्वाचन जितेर वा हारेर सरकार फेरबदल हुने अवस्था होइन। तर, पछिल्लो निर्वाचनपछि देखिएको राजनीतिक प्रवृत्तिको परीक्षा भने निश्चय नै हो। यसले अहिले बरालिएको राष्ट्रिय राजनीतिलाई कतातिर लैजाने भनेर दिशानिर्देश गर्छ, गर्नुपर्छ।’

एमालेले निरन्तर जित्दै आएको इलाम–२ मा आफ्नो शाख बचाउन सबै तरिका अपनाउने एमालेको योजना छ। उता, कांग्रेसले पनि यो क्षेत्र खोस्नका लागि चुनावी योजनालाई पहिलाको भन्दा फरक तरिकाले अघि बढाएको नेताहरूले जनाएका छन्।