आत्मरक्षा तालिमपछि किशोरीहरुले भने, ‘अब आइलाग्नेमाथि जाइलाग्छौं’



म्याग्दी।

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा बिहीबारदेखि सुरु भएको किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सम्पन्न भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो ।

मंगला गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजना र व्यवस्थापनमा तालिम सञ्चालन गरिएको थियो । शनिवारसम्म तीन दिन चलेको तालिममा मंगला गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न ९ वटा सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट महिला शिक्षकसहित ३६ जना किशोरीहरुले सहभागिता जनाएका थिए ।

तीन दिनसम्म चलेको तालिममा नवीन आनन्द योग केन्द्र बेनी म्याग्दीका योग प्रशिक्षक नवीन जुग्जाली, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्मा, प्रहरी जवानद्वय अनिता दर्लामी, संगीता थारु, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल र महिला तथा बालबालिका शाखा प्रमुख अनिताकुमारी शर्माले सहजीकरण गरेका थिए ।

तालिममा आत्मरक्षाको सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास, कल्चरल तथा कला प्रदर्शनी, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यवहारिक अभ्यास, सफल नेतृत्व विकास सम्बन्धी कला, साइबर सुरक्षा एवं घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै जिल्ला समन्वय समिति म्याग्दीका उपप्रमुख डिलकुमारी खत्रीले तालिमको सद्धान्तिक र प्रयोगात्मक अभ्यासको क्रममा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा व्यवहारमा उतार्न सहभागीलाई सुझाव दिएकी छन् । तालिमको समापन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पालिकामार्फत सिप विकास तथा सचेतनामूलक तालिम कार्यक्रमहरुलाई जोड दिइने बताए । तालिमको समापनसत्र सहभागी दिया पुनले सञ्चालन गरेकी थिइन् ।

पछिल्लो समय देशमा महिला तथा बालबालिकाहरुमाथि बढ्दै गैरहेको विभिन्न प्रकृतिका हिंसाहरुको न्यूनीकरणमा सहयोग पु¥याउन र तालिमबाट विद्यालय उमेर समूहका किशोरीहरुलाई सक्षम बनाउन तालिम सञ्चालन गरिएको मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले जानकारी दिइन् । उनले गतवर्ष जिल्लाको विभिन्न स्थानमा आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गरिएको हुँदा यसवर्ष पनि सामाजिक विकास कार्यालय र पालिकाहरुसँगको समन्वयमा तालिमलाई अभियानको रुपमा चलाइएको बताइन् ।

तालिममा सहभागी मंगला गाउँपालिकाअन्तर्गत विभिन्न विद्यालयहरुका किशोरीहरुले आत्मरक्षा सम्बन्धी क्षमता विकास तालिममार्फत आफूहरुले ज्ञान, सिपसम्बन्धी धेरै जानकारीहरु पाएको अनुभव सुनाएका छन् । तालिमबाट हिंसाजन्य गतिविधि र आत्मरक्षाको लागि गर्न सकिने प्रतिकार तथा विभिन्न उपायहरुको बारेमा सिकेको बताउँदै अब आफूहरुमाथि कोही आइलागेको खण्डमा जाइलाग्ने तालिमका सहभागी महेन्द्ररत्न मावि बरंजाकी छात्रा एलिसा विश्वकर्माले बताइन् ।

प्रतिक्रिया दिनुहोस्