न्यायालयको सुधारमा केन्द्रित छु : प्रधानन्यायाधीश श्रेष्ठ

84
Shares

भक्तपुर ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई न्यायको धरोहर र नागरिकहरूको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न लागिपरेको बताएका छन्  ।
भक्तपुर जिल्ला अदालतको नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनको उद्घाटन कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिका सुधारोन्मुख भइरहेको बताए ।न्यायिक सुधारका पक्षमा सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने उनको भनाई थियो  ।

अदालतको प्रविधिको उच्चतम प्रयोग गरी छिटो छरितो न्याय सम्पादनमा जोड दिएको उल्लेख गर्दै उनले यसले समग्र न्याय सम्पादनमा समेत सुधार देखिएको बताए ।
सबै उच्च अदालतमा भिडियो कन्फेरेन्समार्फत बहस गर्न मिल्ने बनाउन आवश्यक तयारी भइरहेको बताउँदै उनले अदालतको आधुनिकीकरणका लागि अबको प्राथमिकता सूचना प्रविधिको बहुआयामिक विकास र दिगो उपयोगमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

न्याय सम्पादनको कार्यलाई छिटो छरितो, गुणस्तरीय, प्रभावकारी बनाउन न्यायपालिकाले मुद्दा व्यवस्थापन लगायत विभिन्न पद्धतिगत सुधारहरुलाई आत्मसात् गर्दै आएको उनले बताए ।

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको मान्यतालाई अक्षुण्ण राख्दै संविधानले प्रदान गरेको भूमिका र जिम्मेवारी सबैले पुरा गर्नुपर्नेमा उनले जोड दिए ।
आधुनिक र सुविधा सम्पन्न भवनबाट प्रवाह हुने न्याय सम्पादनले न्याय, सुशासन र जनआस्था वृद्धिमा थप उचाइ प्राप्त गर्ने बिश्वास व्यक्त गरे ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश डा. आनन्दमोहन भट्टराईले सर्वोच्च अदालतले पुराना मुद्दाहरूको चाप घटाउँदै पारदर्शी ढंगले काम गर्दै आइरहेको बताए ।उनले सर्वोच्च अदालतले सार्वजनिक सरोकारका विषयहरुलाई प्राथमिकतामा राखी जिम्मेवारीपूर्वक काम गरिरहेको बताए ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर जिल्ला अदालतका न्यायाधीश वासुदेव न्यौपाने, ,स्रेस्तेदार ऋतबहादुर पुलामी मगर, नेपाल बार एसोसिएसन भक्तपुर जिल्ला अदालत बार इकाई कार्य समितिका अध्यक्ष रवीन्द्र प्रधान लगायतले प्रभावकारी न्याय सम्पादनमा जोड दिए ।