किशोरीलाई आत्मरक्षा तालिम : मानसिक र शारिरीक रुपमा सशक्त बनाइने



म्याग्दी।

पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा हिजो (बिहीबार)देखि किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी विषयको क्षमता विकास तालिम सुरु भएको छ । किशोरी तथा बालिकामाथि हुन सक्ने सम्भावित यौनजन्य दुव्र्यवहारको विरुद्ध प्रतिकार गर्न सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

मंगला गाउँपालिका र सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग एवं मिलन म्याग्दीको आयोजना र व्यवस्थापनमा तालिम सुरु गरिएको छ । भोलि (शनिवार)सम्म तीन दिन चल्ने तालिममा मंगला गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न ९ वटा विद्यालयहरुबाट महिला शिक्षकसहित ३६ जना किशोरीहरुले सहभागिता जनाएका छन्।

तालिमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले किशोरीहरुलाई मानसिक र शारिरीक रुपमा सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले गाउँपालिकाले विद्यालय तहमा सचेतना सम्बन्धी विभिन्न तालिम तथा कार्यक्रमहरुको आयोजना गरी विद्यालयस्तरमा नै विद्यार्थीलाई सशक्त बनाउने बताउँदै पालिकामार्फत विकास निर्माण सँगसँगै शिक्षा, स्वास्थ्य, जनचेतनालगायत क्षेत्रमा जोड दिइएको बताए । आगामी दिनमा पनि सचेतनामूलक विभिन्न कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ ।

तालिम उद्घाटसत्रको समापन गर्दै मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले तालिममार्फत समुदायस्तरमा सचेतना फैलाउन आवश्यक रहेकोमा जोड दिइन् । उनले पालिकाबाट महिला र किशोरीहरुलाई सचेतनाको कार्यक्रम सञ्चालन गरिने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेलले सहभागी किशोरीहरुलाई तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्न सुझाव दिए । गाउँपालिकाले पालिका भित्रका विद्यालयहरुमा सचेतना सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने बताउँदै उनले आगामी वर्षको वार्षिक नीति, कार्यक्रम र बजेटमा सम्बोधन गरेर सचेतनाका कार्यक्रमहरु थप सञ्चालन गरिने बताए ।

कार्यक्रममा स्वागत गर्दै मंगला गाउँपालिकाको सामाजिक विकास शाखा प्रमुख एवं सूचना अधिकारी राजेन्द्र आचार्यले मंगलामा चालु आवको महिलालक्षित बजेटको सहयोगमा किशोरी शिक्षासँग सम्बन्धित आत्मरक्षाको तालिम सञ्चालन गरिएको जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष क्षत्रीको अध्यक्षता र सामाजिक विकास कार्यालयका नायव सुब्बा गोविन्द पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले तालिमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन् ।

तालिमको पहिलो दिन नवीन आनन्द योग केन्द्र बेनी म्याग्दीका योग प्रशिक्षक नवीन जुग्जाली र जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी सहायक निरीक्षक कृष्ण विश्वकर्माले सहजीकरण गरेका छन् । यसैगरी तालिममा जुग्जाली र विश्वकर्मासहित मंगला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल, सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापा, प्रहरी जवानद्वय अनिता दर्लामी, संगीता थारु, मंगला गाउँपालिकाको सामाजिक विकास शाखा प्रमुख राजेन्द्र आचार्य, महिला तथा बालबालिका शाखा प्रमुख अनिताकुमारी शर्मा लगायतले सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

तालिममा आत्मरक्षा सिप विकास, सकारात्मक सोच तथा योग आसन, समाज रुपान्तरणमा किशोरकिशोरीहरुको भूमिका, जीवनरक्षा सम्बन्धी प्रयोगात्मक अभ्यास, कल्चरल तथा कला प्रदर्शनी, यौनजन्य वृद्धि विकासको व्यवस्थापन, आत्मरक्षा सिपको व्यवहारिक अभ्यास, सफल नेतृत्व विकास सम्बन्धी कला, साइबर सुरक्षा तथा घरेलु हिंसा न्यूनीकरण, बाल अधिकारका आयामहरु, बाल बचाउ, संरक्षण र सहभागिता, लैङ्गिक हिंसा न्यूनीकरण तथा सामाजिक विकासको सम्बन्धलगायत विषयहरुमा सहजीकरण भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्