गीतकार थापा र गायिका देशार पुरस्कृत

252
Shares

हेटौंडा ।

गीतकार राजेन्द्र थापालाई १५औं संस्करणको बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार–२०८० बाट हेटौंडामा सम्मान गरिएको छ। भीमविराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले हालै हेटौंडामा एक समारोहबीच गीतकार थापालाई एक लाख रुपियाँ राशिसहित सम्मान गरेको हो।

हेटौंडाका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आफ्नी आमा बिजुलीमाया वनः श्रेष्ठको नाममा पुरस्कार स्थापना गरेका हुन्। कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र थापा, प्रतिष्ठान अध्यक्ष केशबलाल श्रेष्ठलगायतले गीतकार थापालाई दोसल्ला ओढाइ सम्मान गरेका थिए। करिब पाँच दशकभन्दा लामो समयसम्म नेपाली गीत लेखनमा निरन्तर कलम चलाईरहेका थापालाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ।

आधुनिकदेखि चलचित्रका गीतका लागि समेत कलम चलाएका थापाका पोहोर साल खुसी फाट्दा, पर लैजाऊ फूलहरु, झिरमा उनिनु एउटा कुरा, कसरी म भुलेँ, मेरो खुकुरीको नौलो कथा, बेहोसपछि त होशमा आउँदा क्या दामी भो, दर्शन नमस्तेलगायतका दर्जनौ गीत लोकप्रिय छन्। उनले एक हजारभन्दा बढी गीत लेखेका छन्।

त्यसै गरी २५ हजार रुपियाँ राशिको भीम विराग युवा संगीत पुरस्कार २०७९ बाट गायिका निशा देशारलाई सम्मान गरिएको छ। निशाका आधुनिक, गजल, फिल्मीजस्ता विभिन्न विधाका दर्जनौं गीत लोकप्रिय छन्।