केएनपी नेरोलेक महिला भलिबल हुने

282
Shares

काठमाडौं ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बैशाख १२ गतेदेखि १५ गतेसम्म केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको सातौं संस्करण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ। केएनपीका कन्ट्री हेड मनोजकुमार मिश्र र शेरबहादुर स्मृति प्रतिष्ठानका संरक्षक गमला खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेल सञ्चालन गरिने बताइएको छ।

प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यसैगरी २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ दिइनेछ। विधागततर्फ उत्कृष्ट हुनेलाई २५ हजार र हरेक खेलको ‘प्लेयर अफ दी म्याच’ ले १५ हजार रुपैयाँ पाउनेछन्।

प्रतियोगितामा साबिक विजेता न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।

प्रतियोगिताको उद्घाटनको अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित शेरबहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित गरिने बताइएको छ। प्रतियोगिताको अनुमानित बजेट करिब ५० लाख रुपैयाँ रहेको बताइएको छ।