प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

350
Shares

काठमाडौं ।

प्रतिनिधि सभा बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

त्यस्तै, चालू अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरह रूसम्बन्धित माननीय मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०पेश गर्ने कार्यसूची रहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची पनि रहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

त्यस्तै, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित माननीय सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सभाको स्वीकृतिको लागि पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकोले आजै राति १२ बजेबाट हिउँदे अधिवेशनको अन्त्य हुँदै छ।

संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो।