कोभिडको कारण बन्द पर्यटक सूचना केन्द्र पुनः सञ्चालन



म्याग्दी।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को कारण बन्द पर्यटक सूचना केन्द्र म्याग्दीमा पुनः सञ्चालन भएको छ । नयाँ वर्ष २०८१ सालको सुरुवातसँगै पर्यटकहरुलाई लक्षित गरेर आज (शनिवार)देखि पर्यटक सूचना केन्द्र पुनः सञ्चालनमा आएको हो ।

म्याग्दी र मुस्ताङ जिल्लाको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरेर सूचना प्रवाह गर्नेगरी सदरमुकाम बेनीमा पर्यटक सूचना केन्द्र स्थापना गरिएको थियो । कोरोनापछि सुस्ताएको पर्यटन क्षेत्र अहिले विस्तारै लयमा फर्किन थालेपछि पर्यटनसँग सम्बन्धित गतिविधिहरु सञ्चालन हुन थालेका छन् । सोही अनुसार म्याग्दीमा यसअघि सञ्चालन भई बन्द भएको सूचना केन्द्र पुनः सञ्चालन गरिएको हो ।

‘म्याग्दी घुमौं प्राकृतिक सौन्दर्यमा रमाऔं, आन्तरिक तथा बाह्य पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित बेनी नगरपालिका, नेपाल पर्यटन बोर्ड र म्याग्दी उद्योग वाणिज्य संघद्वारा पर्यटक सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ । म्याग्दी र मुस्ताङको प्रवेशद्वार रहेको बेनीबजारस्थित कालीपुलमा सञ्चालित पर्यटक सूचना केन्द्रमा म्याग्दीका धार्मिक, ऐतिहासिक, पर्यटकीयस्थल र कला, संस्कृति अङ्कित तस्विरसहितका भिडियोमूलक जानकारीहरु राखिएको छ ।

यसअघि २०७५ सालमा म्याग्दी भ्रमण वर्षको आयोजना गरी पर्यटक सूचना केन्द्र स्थापना गरिएको थियो । तर, विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण बन्द भएको पर्यटक सूचना केन्द्रलाई मर्मतसम्भार गरी पुनः सञ्चालन गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । पुनसर््थापना गरिएको पर्यटक सूचना केन्द्रको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले एक समारोहबीच उद्घाटन गरे । पर्यटक सूचना केन्द्रले म्याग्दीको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख थापाले स्थानीय पालिका र निजी क्षेत्रमार्फत स्थापना गरिएको पर्यटक सूचना केन्द्रलाई दीर्घकालीन रुपमा सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले पर्यटक लोभ्याउने र पर्यटन क्षेत्रको विकासमा सूचना र सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका भएकाले पर्यटक सूचना केन्द्रलाई निरन्तर रुपमा सञ्चालन गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए।

पर्यटक सूचना केन्द्रमा म्याग्दीका पूराना र लोपोन्मुख तस्विरहरुको साथै श्रव्यदृश्य सामग्रीको व्यवस्थापन गरेर राखिएको छ । यसका साथै कर्मचारीको व्यवस्थासहित म्याग्दीका पर्यटकीय क्षेत्रहरु, होटल तथा रेष्टुरेण्ट र होमस्टेको समेत सन्देशमूलक जानकारीहरु राखिने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । पर्यटक सूचना केन्द्रले पर्यटकहरुको यात्रालाई थप सहज बनाउनुका साथै पर्यटकको बसाई समेत लम्बिने बताइएको छ ।

विगतमा कोरोना भाइरसको कारणले ठप्प जस्तै बनेको नेपालको पर्यटन क्षेत्र अहिले विस्तारै लयमा फर्किन थालेको छ । पछिल्लो समय देशका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल समेत बढेको छ । म्याग्दीमा पनि आन्तरिक पर्यटकको संख्या बढ्दै जान थालेको पर्यटन व्यवसायी बताउँछन् ।

पर्यटक सूचना केन्द्रभित्र म्याग्दीका छ वटै पालिकाका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थल, स्थानीय जीवनशैली, कला, संस्कृति र रहनसहन झल्किने तस्विरहरु त्यसको महत्व, अवस्थालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको छ । सूचना केन्द्र स्थापना गर्न तत्कालीन जिल्ला विकास समिति र बेनी नगरपालिकाले २५ लाख रुपैयाँभन्दा बढी लगानी गरेका थिए । सूचना केन्द्रसँगै कोसेली घर सञ्चालनको पनि तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्