सफा हिमाल अभियान शुरु

42
Shares

काठमाडौं ।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाको अगुवाईमा सञ्चालन हुने सफा हिमाल अभियान प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय झण्डासहितको सेनाको झण्डा हस्तान्तरण गरेसंगै शुरु भएको छ।

झण्डा हस्तान्तरण समारोहमा प्रधान सेनापति शर्माले अभियानको नेतृत्वकर्ता सेनानी आदित्य कार्कीलाई ‘क्याम्पियन बिन’ हस्तान्तरण गर्दै पर्वतीय पर्यावरण सुरक्षा सार्वजनिक महत्वको विषय भएकोले हिमाल सफाइ अभियान सरोकारवाला सबैको साझा प्रयास, समन्वय र सहकार्यबाट मात्र सफल हुने धारणा राख्नुभयो।

पर्यावरण सुरक्षामा करिब ५ दशकको सक्रिय सहभागिता एवम् सफा हिमाल अभियानमा विगत पाँच वर्षदेखिका अनुभवहरू र यस वर्षको विस्तृत र व्यावहारिक योजनाले गर्दा यस अभियानले सफलतापूर्वक आफ्नो लक्ष्य प्राप्त गर्ने विश्वास व्यक्त गर्दै प्रधान सेनापति शर्माले यस अभियानको सफलता फोहोर सङ्कलनको मात्राले मात्र नभई अभियानमार्फत प्रसारित हुने सचेतना र त्यसले ल्याउने बृहत् सहभागिताले निर्धारण हुने विचार व्यक्त गर्नुभयो।

हिमाल सफाइ अभियानका निर्देशकले अभियानको जानकारी प्रस्तुत गरेर सुरु भएको उक्त समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. दीपक काफ्लेले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत नेपाली सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, खुम्वु पासाङ्ग ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण संघ र हिमालयन उद्धार संघ लगायतको प्राविधिक सहयोग रहेको छ।

उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहर तथा ५ वटा मानव शव व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ। करिब ३ हप्ताको ‘प्रि–डिप्लोइमेन्ट तथा एक्लिमटाईजेशन’ तालिम सम्पन्न गरिसकेको सफाइ टोली वैशाख २ गते सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरी करिब ५० दिनको कार्य योजनाअनुसार सफाइको कार्यमा संलग्न रहनेछ।

सङ्कलित फोहरहरू व्यवस्थापनका लागि सड्ने फोहरहरु स्थानीय निकायलाई र नसड्ने फोहर रिसाइकल गर्ने संस्थालाई हस्तान्तरण गरी हिमाल सफाई अभियान समापन हुने बताइएको छ। अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरणीय प्रदूषण तथा तापमान परिवर्तनको असरलाई केही हदसम्म न्यून गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।