एमाले हुम्लाको दसौँ जिल्ला अधिवेशनको उद्घाटन सत्र आज 

70
Shares

सिमकोट । 

नेकपा (एमाले) हुम्लाको दसौँ जिल्ला अधिवेशनको सुरुवात आज हुँदै छ।

चैत्र २८ गतेबाट सुरु गर्ने भनिएता पनि हिजो बुधबार कर्णाली प्रदेश सरकार गठन लगायतका काममा प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरू व्यस्त रहनु पर्ने भएपछि निर्धारित समयभन्दा एक दिन ढिलो अर्थात् आज उद्घाटन हुन लागेको हो।

अधिवेशनका लागि पार्टी केन्द्रीय सचिव तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज लेखराज भट्ट स्थायी कमिटी सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज गोरख बोगटी, कर्णाली प्रदेश कमिटी अध्यक्ष  गुलावजंग शाह,पाटी केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज नगिन्द्र शाही (नेशनल) पार्टी केन्द्रीय सदस्य दल रावल, दल फडेरा, छक्कबहादुर लामा, केन्द्रीय निर्वाचन आयोग सदस्य काँसी बराल, केन्द्रीय लेखा आयोग सदस्य डा।लिलाधर तिवारी सहभागी हुने भएका छन्।

जिल्ला अधिवेशनका सातवटै गाउँपालिकामा रहेका ४३ वटै वडाका प्रतिनिधिहरू सदरमुकाम सिमकोट पुगिसकेका छन्। दसौँ जिल्ला अधिवेशनका लागि १७८ जना प्रतिनिधि छनौट भएका छन्। त्यसैगरि ९८ जनाको आयोजक कमिटी गरी २९८ जना प्रतिनिधिले दसौँ जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्नेछन्। एमाले जन वर्गीय सङ्गठनबाट समेत अधिवेशन प्रतिनिधिको व्यवस्था गरेको छ।

अधिवेशनका लागि ३३ प्रतिशत महिला र चालीस वर्ष मुनीका १५ प्रतिशत प्रतिनिधि छनौट भएको एमाले हुम्लाले जनाएको छ। यसअघि नै दसौँ जिल्ला हुम्लाको वस्तुस्थिति झल्किने गरी लोगो सार्वजनिक गरिएको थियो। अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने भएको कारण माहोल अझै तातेका हो।

हुम्लाको नेतृत्वका लागि वर्तमान कावा अध्यक्ष डबल रावत, पूर्व उपाध्यक्ष ज्ञानी बुमी आकाङ्क्षी देखिएका छन् भने गोविन्द बहादुर शाहीको पनि चर्चा चल्न थालेको छ। अधिवेशनको उद्घाटनका लागि एमाले सचिव पृथ्वी सुब्बा गुरुङ हुम्ला आउने कार्यक्रम रहेको भएपनि अन्तमा गुरुङ नआउने भएका हुन्।

अधिवेशनका लागि नेकपा एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगी र हुम्ला जिल्ला इन्चार्ज नागेन्द्र शाही गत सोमबार नै हुम्ला पुगेका थिए।