ह्विलचियर बास्केटबल उपाधि आर्मी र जावलाखेललाई



काठमाडौं ।

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न पुरुषको फाइनलमा विभागीय डर्बीमा आर्मीले नेपाल एपीएफ क्लबलाई हरायो । महिलाको फाइनलमा जावलाखेलले इस्पाइनल कट इन्जरी नेटवर्क नेपाललाई पराजित गर्दै उपाधि जितेको हो ।

पुरुषतर्फ निक्कै नै रोमाञ्चक बनेको खेलमा आर्मीले एपीएफलाई २१–१७ ले पराजित गरेको थियो। यसै विधामा इस्पाइनल कट इन्जरी नेटवर्क तेस्रो भयो। टोलीले तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा बीआईएलाई १७–१६ ले पराजित गरेको थियो।

महिलाको फाइनलमा जावलाखेलले इस्पाइनललाई १८–७ ले हराएर उपाधि सुरक्षित गरेको थियो । बीआईएले तेस्रो स्थानका लागि भएको भिडन्तमा विइनलाई ६–० ले हराएको थियो। विजेता टोली आर्मी र जावलाखेलले ५०/५० हजार नगद प्राप्त गरे।

उपविजेता टोली एपीएफ र इस्पाइनलले ४०/४० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, तेस्रो हुने टोलीले ३०/३० हजार रुपैयाँ प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्