फ्रेन्डसिप तेक्वान्दो वैशाखमा

112
Shares

काठमाडौं ।

राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताको चौथो संस्करण आगामी वैशाख २ गते हुने भएको छ। कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सह–आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप आईओएफटीसीको सहयोगमा यो प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा देशभरबाट ६ सयभन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा क्योरोगीको सिनियर पुरुष तथा महिलामा समान ६ गरी कुल १२ स्पर्धामा खेल हुनेछन्। क्योरोगीकै जुनियरतर्फ पुरुष र महिलामा समान १० गरी २० स्पर्धामा भिडन्त हुनेछन् ।

त्यसैगरी पुम्सेको व्यक्तिगत, समूहगत र जोडीसहित १२ स्पर्धा समावेश गरिएको छ । क्योरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ।

यस प्रतियोगिताबाट व्यक्तिगत पुम्सेबाट पुरुष र महिलाबाट समान एक–एक जना तथा गेरोगीको सिनियर स्पर्धाबाट पुरुष र महिलाबाट दुई–दुई खेलाडी सिओलमा हुने आगामी प्रतियोगिताका लागि छनोट हुनेछन्। आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियाको सिओलमा अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिप हुँदैछ।

सिनियर तौल समुहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समुहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ। समान दुई पुरुष र महिला स्वर्ण विजेताले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्।

छनोट हुने ६ खेलाडीले जनही ५० हजार रुपैयाँ पुरस्कार गर्नेछन्। प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः १ लाख, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ।